बैतडी: बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मंगलबार मेलौली–१ का ५५ वर्षीय तेजसिंह मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेजसिंह मंगलबार बिहान मृत भेटिएका हुन् । सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए । ‘मंगलबार बिहान घरबाट फोन गर्दा नउठेपछि आफन्तहरु खोजतलासका लागि मेलौली बजार पुगेका थिए,’ प्रवक्ता बडूले भने, ‘उनी सुतिरहेको कोठाको ढोका फोरेर हेर्दा मृत भेटिएका थिए ।’
केही समयदेखि काठमाडौं बस्दै आएका तेजसिंह भारतमा लागेको कुम्भमेला दर्शन गरी पूजापाठका लागि भन्दै मेलौली आएको प्रहरी निरीक्षक बडूले बताए । यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।