कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनलाई प्याकेजिङ र ब्राण्डिङ गर्दै स्वदेशमै उपभोग र विदेशमा निर्यात गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको बताएका छन् । उनले कञ्चनपुरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने सरकारको नीति रहेको उल्लेख गरे।
भारतको उत्तराखण्ड प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज) ले नेपाल-भारतबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्न यस्ता महोत्सव महत्वपूर्ण हुने बताए ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै लगानीको अवसर सिर्जना गर्ने र वित्तीय तथा सहकारी क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको १० दिने महोत्सवमा लघु उद्योग, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवालगायत विभिन्न क्षेत्रका स्टलहरू राखिएका छन् । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, बालबालिकाका लागि बाल उद्यान र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको छ ।