धनगढी: कैलालीस्थित धनगढीको खुल्ला मञ्च व्यवस्थित गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्चको दक्षिण क्षेत्रको भाग व्यवस्थित गर्ने भएको हो। धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चको दक्षिण क्षेत्रको अतिक्रमण खाली गरेकोमा व्यवस्थित गरिने भएको छ।
धनगढी उपमहानगरपालिका र महिला मैत्री सहर परियोजनाको संयुक्त लगानीमा खुल्ला मञ्च व्यवस्थित गरिने भएको हो। धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्च व्यवस्थित गर्न विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार पारेको छ। चालु आर्थिक वर्षमा नै विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्दै ठेक्का गरेर काम पूरा हुने छ।
धनगढी उपमहानगरपालिकाले २ करोडका संरचनाहरू चालु आर्थिक वर्षमा निर्माण पूरा हुने बताएको छ। महिला मैत्री सहर परियोजनाको एक करोड ५० लाख र धनगढी उपमहानगरपालिकाको ५० लाखको लागतमा भौतिक संरचनाहरू निर्माण गरिने छन्। परियोजनाले ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाले ३० प्रतिशत लगानी खुल्ला मञ्चमा गर्ने भएको छ। धनगढी उपमहानगरपालिकाले माटो भरान, सडक निर्माण र शौचालय लगायतको काम थप गर्ने भएको छ। धनगढी उपमहानगरपालिकाले विस्तृत योजना स्वीकृत नगरेको भएपनि झण्डै ५ करोड खुल्ला मञ्चमा खर्च गर्नुुपर्ने देखिएको छ।
चालु आर्थिक वर्षमा खुल्ला मञ्चमा बालबालिकाका लागि खेल्ले स्थान तयार हुने छ। जेष्ठ नागरिक मिलन केन्द्र, युवा लक्षित क्षेत्र, खानाका अस्थायी स्टलहरू, विश्राम स्थल र शौचालय निर्माणको काम चालु आर्थिक वर्षमा तयार गर्ने गरिने छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले भने, ‘डिपीआर तयार भएको छ। स्वीकृत हुन बाँकी छ। २ करोडको काम यो वर्ष हुन्छ। खर्च झण्डै ५ करोड जस्तो होला। त्यहाँ अरू पनि काम छन्।’ महिलाहरूले रातिको समयमा समेत व्यापार गर्ने सक्ने गरेर विद्युत लाइट जडान तथा संरचनाहरू निर्माण गरिने भएको हो। धनगढीका महिलालाई आयस्रोतसँग जोड्न शनिवारीय महिला उद्यम मेला सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्च क्षेत्रमा समेत रात्रि बजार सञ्चालन गर्न सकिने संरचनाहरू निर्माण गर्ने भएको छ।