चैनपुर । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका(५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
‘घरभित्रै बसिरहन मन मान्दैन’, उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’ थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्’, तुलसीले भनिन् ।
तर यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरे । थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताए ।
उनले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए । बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग बिहे भएको थियो । बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी हुन् ।
सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो’, तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’ अनलाइनखबरबाट