बाजुरा । बाजुराकी एक वृद्धा, हराएको २५ वर्षपछि फेला परेकी छन् । बुढीगंगा नगरपालिका–३ की एक वृद्धा हराएको २५ वर्षपछि भारतको उत्तराखण्ड राज्य अन्तरगत पिथौरागढमा फेला परेकी हुन् । आफ्नो नाम शान्ति बताउने ती वृद्धा पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रयस्थलमा रहेको केआईएन (किन)इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिएका छन् ।
लामो समय सडकमा बिताएकी उनलाई भारतीय प्रहरीले उद्धार गरी आश्रयस्थल पु–याएको थियो । भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन विभिन्न संघसंस्था तथा क्षेत्रीय निकायलाई जानकारी गराए पनि पहिचान हुन सकेको थिएन । भारतीय प्रहरीले यस विषयमा धेरैपटक परामर्श गरेपछि सामाजिक सञ्जालमा तस्बिरसहितको जानकारी पोस्ट गरिएको जोशीले बताए ।
उनले सो पोष्टको आधारमा सामाजिक सञ्जालमा तस्बिर हेरेपछि उनकी छोरी वर्षा शाहले फोन गरेर उनी आफ्नी आमा भएको पुष्टि गरेको बताए । सन् २००७ देखि वान स्टप सेन्टरको आश्रयस्थलमा बस्दै आएकी ति वृद्धाको उमेर करिब ७० वर्ष रहेको भारतीय प्रहरीले जनाएको छ । बाजुराको बुढीगंगा नगरपालिका–३ निवासी उनका श्रीमान् चन्द्रबहादुर शाह र छोरा भूपेन्द्र शाहसमेत सम्पर्कमा आइसकेको बताईएको छ ।