धनगढी: कैलालीमा विषादी सेवन गरेका एक आमा र छोरीको मृत्यु भएको छ। कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराका अनुसार शुक्रबार दिउँसो आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरीलाई भेटिएको थियो।
घटनापछि मृतकका छोराले दुवैलाई उपचारका लागि धनगढीस्थित कैलाली अस्पताल लगेका थिए। तर, उपचारकै क्रममा उनीहरूको मृत्यु भएको डीएसपी बोहराले बताए। मृतकका शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न सकेको छैन भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।