ओखलढुंगा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीनै तहका सरकारले स्थायी उत्पादनको उपयोग र ब्राण्डिङमा काम गर्नुपर्ने बताएका छन् । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वर महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको ब्राण्डिङ र निर्यातमा आफू मन्त्री भएपछि काम थालेको बताए ।
मन्त्री भण्डारीले भने- मेरो मन्त्रालयमा सबै टेबल कुर्सीदेखि प्रयोग हुने सामग्रीहरु नेपाली उत्पादनका मात्र राखिएका छन् । स्थानीय सरकारले नपाली माटोमा उत्पादन भएका र नेपाली उद्योगमा उत्पादित वस्तुकको उपभोग गर्नुपर्छ । त्यसको ब्राण्डिङ र बजारीकरणमा पनि तीनै तहका सरकारले काम गर्नेगरी योजना बनिरहेको छ । आज लिखु गाउँपालिकाभित्र स्थानीय जे उत्पादन गर्छन् त्यसको पहिलो खपत यहि गाउँपालिकाले गर्नुपर्छ ।
मन्त्री भण्डारीले गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले मन्त्रालयसमक्ष लिखुको स्थानीय उद्योग स्थापनाबारे केही प्रस्ताव ल्याएको भन्दै त्यसमा काम गर्ने बताए । उनले स्थानीयस्तरमा उद्योग स्थापना गरेर पहिलो उपभोग स्थानीय सरकारमार्फत नै गर्नेगरी सरकारले सघाउने आश्वासन समेत दिए ।
नर्बमदेश्वर महादेव मन्दिरको प्रचार प्रसार तथा सो क्षेत्रको पर्यटन तथा उद्योग प्रबद्र्धनमा सघाउन आयोजित महोत्सवमा स्थानीय समुदायले झाँकीहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार,गाउँपालिका अध्यक्ष अशोक कार्की,उपाध्यक्ष अस्मिता थापा,कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का,वडा नम्बर ३ का वडाध्यक्ष सोकर्ण श्रेष्ठलगायतले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको बताए ।
नर्मदेश्वर महोत्सव फागुन १४ गतेसम्म चल्ने वडाध्यक्ष श्रेष्ठले बताए ।