धनगढी । बैतडीमा भिरबाट लडेर मात्रै ८ महिनामा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०८१र८२ को हालसम्म मात्रै भिरबाट लडेर ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लड्ने गरेका छन । रुखबाट लडेर पनि मृत्यु हुने गरेको छ । प्रहरीका अनुसार ११ जनामा एक जनाको रुखबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेक अनुसार मृत्यु हुनेमा पुर्चौडी नगरपालिकामा एक महिला, सिगास गाउँपालिकामा एक पुरुष, दोगडाकेदार गाउँपालिकामा एक महिला, डिलासैनी गाउँपालिकामा एक महिला, पाटन नगरपालिकामा एक महिला, दशरथचन्द नगरपालिकामा दुई पुरुष, मेलौली नगरपालिकामा एक पुरुष, पन्चेश्वर गाउँपालिकामा एक पुरुष र सुर्नया गाउँपालिकामा दुई महिला गरेर सात महिला र चार पुरुषको मृत्यु भएको छ।
यस्तै शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेले बताए । ‘महिलाको घाँस काट्ने बेला लडेर मृत्यु भएको देखिन्छ । पुरुषहरूको भारी बोकिरहेका वा बाटो हिँड्दा भिरबाट खसेर मृत्यु भएको पाइएको छ’ उनले भने ‘यस्ता घटना प्रायः भइरहे पनि प्रहरीकहाँ सबै आउँदैनन् ।’ यसले जिल्लामा भिरबाट लडेर मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने देखिन्छ ।