एकिन्द्र तिमिल्सेना टीकापुर: उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताएका छन् । वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक अस्थिरताले नयाँ सहर र स्मार्ट सिटीको काम रोकिएको हो । अब यसको काम निरन्तर अगाडि बढ्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यालय खुलेपछि सहर विकास भएको हुनाले टीकापुरलाई शैक्षिक केन्द्रकै रुपमा विकास गर्दा देशलाई योगदान दिन सकिने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर सहरको पहिचान नै शिक्षा भएकाले सुदूरपश्चिम प्रदेश सरकारले विज्ञान तथा प्रविधि विश्वविद्यालय टीकापुरमा स्थापना गर्न लागेको र यसमा सबैको साथ दिनुपर्ने बताए ।
मुख्यमन्त्रीसहित १८८ जनालाई सम्मान
वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवका अवसरमा विभिन्न क्षेत्रका १८८ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पूर्व विद्यार्थीहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री तथा प्रतिनिधि सभासदस्य अब्दुल खान, प्रतिनिधि सभा सदस्य रूपा चौधरी, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी, सुदूरपश्चिम प्रदेश सभाका सदस्य कैलाश चौधरी, प्रतिनिधि सभाका पूर्व सदस्य गंगाबहादुर कुँवर, प्रतिनिधि सभाका पूर्व सदस्य रेशमलाल चौधरी रहेका थिए ।
पूर्व विद्यार्थी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह र विवेक ओझालाई पनि सम्मान गरिएको छ । विद्यालय स्थापना गर्ने तत्कालीन मन्त्री खडकबहादुर सिंह, प्रधानाध्यापक रत्नप्रसाद सज्याल लगायत सात जनालाई मरणोपरान्त सम्मान गरिएको छ । यसैगरी विद्यालयका छ जना पूर्व अध्यक्ष, पूर्व प्राचार्य बलबहादुर रावल, थोमस वर्गीस लगायत सात जनालाई सम्मान गरिएको छ।