डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित ऐतिहासिक अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उत्खनन सुरु गरेको हो । उत्खननका क्रममा मण्डप, देवल, बैठक कक्ष, नाउलाजस्ता संरचनाहरू फेला परेका छन् । यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयासस्वरूप थप अध्ययन गरिने पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए । उनका अनुसार अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण भएको छ ।
सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षणमा तीनै तहका सरकारको ध्यान आवश्यक रहेको बताइन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टका अनुसार संघ र प्रदेश सरकारसँग थप बजेट माग गरिएको छ । हाल गाउँपालिकाले उत्खननका लागि ९० लाख बजेट विनियोजन गरेको छ ।
किम्बदन्ती अनुसार अजयमेरुकोट १३ औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी राजकुमार सहस्त्रपाल र निरयदेव पालले स्थापना गरेका थिए । पछि राजा नागी मल्लले विसं १४४१ मा यसलाई कब्जा गरे । उत्खनन स्थलमा दरबारका भग्नावशेष, देवल, वीरखम्ब, कलात्मक मूर्ति तथा सुरुङहरू भेटिएका छन्, जसले प्राचीन वास्तुकला झल्काउँछन् ।