काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल पठाइएको छ । दिल्लीबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको बताए । उनले भने, ‘अहिले अवस्था सामान्य भएको छ । नेपाली विद्यार्थी कलेज फर्कने क्रममा छन् । कति आइसकेका छन् । नेपाल पुगेका विद्यार्थीको हकमा केही दिन लाग्न सक्छ । तर कलेजले विद्यार्थीलाई सुरक्षित वातावरण दिने प्रतिवद्धता जनाएको छ ।’
कलेजले बुधबार नै सबै विद्यार्थीलाई जोडेर जुम मिटिङ गर्ने जनाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले भने, ‘कलेजले पनि आजै विद्यार्थीहरुलाई सम्बोधन गर्ने गरी जुम मिटिङ गर्नेछ । त्यसले पनि वातावरणलाई थप सहज बनाउने अपेक्षा छ। कलेजले घटनमा संलग्नहरुलाई कारबाही गरिसकेको र नेपाली विद्यार्थीहरुको हकमा शान्ति सुरक्षाको प्रतिवद्धता जनाएको छ । यस विषयमा त्यहाँस्थित चिफ सेक्रेटरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्रीसँग समेत वार्ता भएको छ ।’