धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस भव्य समारोहकाबीच मनाएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय भएको कार्यक्रममा अध्यक्षता सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए । प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ थिए । प्रदेश सरकारले नै मनाएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री र सांसदहरूको भने झिनो उपस्थिति रहेको थियो । सभामुख भीम भण्डारी कार्यक्रममा सहभागी हुँदा उपसभामुख कोइली देवी चौधरी देखिइनन् ।
एमालेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा र अन्तरिक मामिला मन्त्री सहभागी हुँदा कांग्रेस र नागरिक उन्मुक्ति पार्टी कुनै पनि मन्त्री र राज्यमन्त्री कार्यक्रममा सहभागी भएनन् । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको तर्फबाट आर्थिक मामिला मन्त्री बहादुर थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का सहभागी छन् । उनीहरु दुबै मन्त्री कार्यक्रममा आएनन् । त्यस्तै कांग्रेसको तर्फबाट अर्थ राज्यमन्त्री भएका प्रकाश बम र सामाजिक राज्यमन्त्री भएकी सरस्वती खड्का पनि कार्यक्रममा आइनन् ।
काङ्ग्रेसबाट मुख्यमन्त्री भएका शाहकै अध्यक्षतामा आयोजना भएको प्रदेश सरकारको कार्यक्रममा काङ्ग्रेसकै सबै मन्त्री अनुपस्थितिको विषयले अहिले चर्चा पाएको छ । मुख्यमन्त्री निकट स्रोतले भने मन्त्रीहरूको अन्य कार्यक्रम भएको हुँदा प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित हुन नसकेको जनाएको छ । ‘सामाजिक विकास मन्त्रीज्यू अछामको कार्यक्रममा र राज्यमन्त्रीज्यू डडेल्धुराको कार्यक्रममा हुनुहुन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने, ‘अर्थमन्त्री ज्यूको बुवा बिरामी र अर्थ राज्यमन्त्री ज्यू आफै बिरामी भएको हुँदा आउन नसक्नु भएको हो ।’
कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद पनि आइनन् । उनले आफू जिल्लाको कार्यक्रमको लागि डोटी आएको हुँदा कार्यक्रममा उपस्थित हुन नसकेको बताइन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी पनि सरकारमा छन् । तर, उनी पनि कार्यक्रममा आएनन् । ‘म काठमाडौँबाट ढिलो आए त्यहि भएर कार्यक्रममा पुग्न सकिन’, उनले भने । सुदूरपश्चिम सरकारका मन्त्री मात्रै होइन कार्यक्रममा प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति निकै कमजोर रहेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेकोमध्ये कार्यक्रममा चार सांसद मात्रै थिए । पाँच वटा विषयगत समिति मध्ये एक जना मात्रै सभापति कार्यक्रममा उपस्थित थिए ।
५३ जना मध्ये विशेषाधिकार समिति सभापति समेत रहेकी कांग्रेस सांसद तुलसी देवकोटा, एमालेकी जानकी ऐर बम, माओवादी जानकी देवी कुवर कार्यक्रममा उपस्थित थिइन् । ढिलो गरेर एमाले सांसद दमन भण्डारी पनि कार्यक्रममा उपस्थित भएका थिए । पूर्व मुख्यमन्त्री मध्ये राजेन्द्रसिंह रावल मात्रै कार्यक्रममा थिए । दीर्घ सोडारी र त्रिलोचन भट्ट कार्यक्रममा आएनन् । कार्यक्रममा जनप्रतिनिधि भन्दा कर्मचारीको संख्या निकै बढी थियो ।
प्रजातन्त्र स्थापनाको अवसर प्रदेशमा आयोजना गरिएको महत्त्वपूर्ण कार्यक्रममा सरकारकै अधिकांश मन्त्री र सांसद उपस्थित नभएपछि अहिले मन्त्री र सांसदले प्रजातन्त्र दिवसलाई महत्त्व नदिएका हुन् कि भन्ने विषय पनि उठ्न थालेको छ । ‘प्रतिपक्षको कुनै नेता देखिएन । हतारिएर दिवस मनाउनु हुँदैन’, नेकपा एमाले संसदीय दला नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल भन्छन्, ‘प्रभात फेरि गरेर कर्मचारी जम्मा भएर पुरानै पञ्चायती ढङ्गको कार्यक्रम गर्नु हुँदैन । सहिदहरूको स्मरण गर्नु पर्ने थियो । आज ती विषयहरू खड्किएका थिए । ’
उनले कार्यक्रममा सरकारको तर्फबाट पर्याप्त मन्त्रीहरूको उपस्थित नहुँदा र सांसदहरू पनि पर्याप्त नआउँदा प्रजातन्त्र दिवसलाई महत्त्व नदिएको झल्को देखिएको बताए । ‘सूचना नपाउँदा वा अन्य कार्यक्रमले गर्दा पनि उपस्थिति कम भएको हुनसक्छ’, उनले भने, ‘मुख्यमन्त्री नै अध्यक्षता ग्रहण गर्ने कार्यक्रमलाई अझै तयारी गरेर, छलफल गरेर गर्नु पर्छ ।’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रीहरूलाई समयमै जानकारी गराएको जनाएको छ ।
‘बिहानको कार्यक्रममा सबै मन्त्री ज्यूहरूलाई निमन्त्रणा गरिएको थियो । राज्यमन्त्री ज्यूहरूलाई पनि जानकारी गराएर निमन्त्रण गरेका थियौँ तर, उहाँहरूको उपस्थिति निकै कम देखियो’, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले भने, ‘प्रदेश सभा सदस्य ज्यूहरूलाई कार्यक्रममा उपस्थित गराइदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थियौँ । प्रदेश सभा सचिवालयले पनि सबै सांसदहरूलाई समयै जानकारी गराइएको बताएको छ ।
‘सबै सांसदहरूलाई एसएमएस मार्फत जानकारी गराउन भनेको थिए’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने । मुख्यमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन मूल आयोजक समिति गठन गरिएको थियो । सभामुख, उपसभामुख, सबै मन्त्री, राज्यमन्त्री र प्रदेश सभा सदस्य त्यसको सदस्य थिए । तर, बुधबारको कार्यक्रममा अधिकांश सदस्य नै उपस्थित भएनन् ।