धनगढी: धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको बिचमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनको सम्झौता भएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रका चार वटा सामुदायिक विद्यालयहरूमा ‘ग्रासरुट फुटबल’ हुने भएको हो । धनगढी उपमहानगरपालिका–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, दक्षिणकाली बहिरा आवासीय विद्यालय–११, राष्ट्रिय माध्यमिक विद्यालय–१५ उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनको हुने भएको छ । नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले फुटबल मैदान निर्माण गर्ने छ । धनगढी उपमहानगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको हो । फुटबल संघले खेल सामग्री, खेलाडी, प्रशिक्षक लगायतको व्यवस्थापन गर्ने छ । धनगढी उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने योजना छ । खेल अभ्यासको काम फुटबल संघले गर्ने भएको हो । नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रमको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।
गत आर्थिक वर्ष सुरुवात गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताए । उनले क्रिकेट, ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रम सञ्चालनमा रहेका वडाहरूमा हाल फुटबल कार्यक्रम सञ्चालन नहुने बताए । तर, कार्यक्रमहरू विस्तार गर्दै जाने योजना रहेको उनले बताएका छन् ।