धनगढी: कैलालीमा ड्रग्सको धन्दा मौलाउदै गएको छ। खुला सीमानाका तथा सेवनकर्ताको बिगबिगीले कारोबार बढेको हो। भारतबाट ड्रग्सको तस्करी र कारोबार बढेपछि प्रहरीले पनि सक्रियता बढाएको छ। धनगढीमा विभिन्न प्रहरीकै टोलीले ड्रग्स नियन्त्रणमा काम गरिरहेका छन्। यसैक्रममा कैलाली प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा ६ ग्राम ८८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फागुन ५ गते धनगढी उपमहानगरपालिका-२ ब्यारेल क्षेत्रबाट एक संयुक्त प्रहरी टोलीले सु।प।प्र। ०१०१२ प ७४९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक विनोद गिरी (१९) को हेल्मेटभित्र लुकाइराखेको ५ ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। उक्त मोटरसाइकलका पछाडि सवार बाजुरा बुढीगंगा-४ निवासी देबेन्द्र खाती (२३ वर्ष) लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(१९ लल्लिपुरबाट अनुज ओखेडा (१६) र रुपेन्द्र रावल(२७) को साथबाट ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
यस्तै, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडाको संयुक्त टोलीले धनगढी-१२ बि गाउँबाट शेर बहादुर भण्डारी (३५) र आशिष ढाँट (२१) लाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा विक्रीवितरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।