धनगढी: कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ भने छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जाँचबुझ गरेको छ । विश्वविद्यालयले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको छ। क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा काम गरिरहेको पनि आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ।
क्याम्पसमा नेपाली विद्यार्थीलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरेको छ जुन २४ सै घण्टा सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । विज्ञप्तिमा नेपाली विद्यार्थीलाई परेको समस्याका लागि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिनेछौँ,’ विज्ञप्तिमा छ।
यसअघि विश्वविद्यालयमा नेपाली विद्यार्थीको निधन भएकोप्रति काठमाडौंस्थित भारतीय दूतावासले दुःख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न भारत सरकारले हरसम्भव कदम चाल्ने प्रतिबद्धतासमेत जनाएको थियो । सोमबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय दूतावासले विश्वविद्यालयका अधिकारीहरू, ओडिसा राज्य सरकारसँग राजदूतावास सम्पर्कमा रहेको तथा स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको पनि उल्लेख गरेको छ ।
विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र होस्टेलमा बस्न अपिल गरिसकेको पनि दूतावासले विज्ञप्तिमा जनाएको छ । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थी दुई देशहरूबिचको स्थायी जनस्तरीय सम्बधका महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।