धनगढी । नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा आउँदो फागनु १५ गतेभित्र वडा स्तरीय भेला र अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने भएको छ । सोमबार बसेको क्षेत्र नम्बर ५ को समन्वय समितिको पहिलो बैठकले फागुन १५ गतेभित्र सबै वडामा वडा स्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम गरिसक्ने निर्णय गरेको समितिका संयोजक गोपाल पाठकले जानकारी दिए । उनकाअनुसार निर्वाचन क्षेत्रमा पर्ने सबै वडामा भेला र अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
समन्वय समितिले पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तरगत वडास्तरीय भेला र अभिमुखीकरण गर्ने भएको हो । यस्तै, बैठकले प्रचार प्रसारका लागि क्षेत्र नम्बर ५ स्तरीय प्रचार डेस्क समेत स्थापना गर्ने निर्णय गरेको छ ।जरा अभियान केन्द्रीत गरेर पाठकको संयोजकत्वमा क्षेत्र नम्बर ५ मा ७५ सदस्यीय समन्वय समिति गठन गरिएको छ । एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानाको प्रमुख आथित्यतता समन्वय समितिको पहिलो बैठक बसेको थियो ।
बैठकमा पोलिटब्युरो सदस्य तथा क्षेत्र नम्बर ५ की इन्चार्ज लिला भण्डारी, पार्टीका प्रदेश सचिव रणबहादुर चन्द, जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासहित क्षेत्र नम्बर ५ मा प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो । बैठकमा आइतबार प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिमा निर्वाचित भएका प्रदेश सभा सदस्य धर्मराज पाठक र भूमी आयोगका सदस्य कमल सिंह रानालाई बधाईसहित सम्मान समेत गरिएको थियो ।