रुपन्देही । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए ।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै एक भारतीय सञ्चारकर्मीले जानकारी दिएका छन् । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।
देवदहको भलुही ९ र १० का ३५ जनाले ५ वटा गाडी लिएर गएकोमा त्यो गाडी दुर्घटना भएको पूर्ववडाध्यक्ष केशव भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।