अछामः अछामको बयालपाटा अस्पतालमा पहिलो पटक हिप जोर्नीको सफल प्रत्यारोपण गरिएको छ। हाडजोर्नी विशेषज्ञ डा। मन्दीप पाठकको टिमले हिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो। साँफेबगर नगरपालिका-८ चण्डिकाका ३० वर्षीय युवक निरोज भुलको पूर्ण हिप जोर्नी र चौरपाटी गाउँपालिका ५ गयलकी ७२ वर्षिया चन्द्रकला खड्काको शल्यक्रिया मार्फत अर्ध हिप जोर्नीको प्रत्यारोपण गरिएको हो। भुल ३ वर्षदेखि बायाँ खुट्टाको दुखाईले थलिएका थिए। भुलले धनगढीका विभिन्न अस्पतालमा उपचार गराउनुका साथै घरमै झारफुक समेत गर्दै आएका थिए।
उपचार गर्दा पनि खुट्टाको दुखाई कम हुनुको साटो समस्या झन् झन् बल्झिँदै गयो। एक्सरे, भिडियो एक्सरे गर्दा खुट्टामा खासै समस्या नदेखाउने तर निरोजलाई भने खुट्टा दुखिरहने, उकालो ओरालो गर्न गाह्रो हुने, शरीरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले उनलाई ३ वर्षदेखि पिरोलिरहेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण धनगढीमा उपचार सम्भव नभएपछि निरोजका दाइ विक्रमले घर ल्याए। सकेजति उपचारका पैसा खर्च भएपछि निराश हुँदै भाइलाई घर ल्याएको विक्रमले बताए। उनले भने,‘आफूसँग पैसा थिएन धनगढीका नवजीवन अस्पतालका डाक्टरको सल्लाह अनुसार ८ देखि ९ लाख पैसा लाग्छ भने पछि म भाइलाई लिएर घर फर्के। घरखर्च चलाउन धौधौ थियो यति ठूलो पैसा जम्मा गर्न सक्ने अवस्था नै भएन।’
भाइको उपचारका लागि विक्रम बयालपाटा अस्पताल पुगे। विक्रमले भाइको उपचारका लागि बयालपाटा अस्पतालका डा। मन्दीप पाठकसँग सल्लाह लिए। डा। मन्दिपको सल्लाह अनुसार विक्रमले भाइ निरोजलाई नेपालगन्ज लिएर एमआरआई गराएर अछाम फर्के। ‘एमआरआई हेर्दा निरोजको बाँया खुट्टाको गेठी ९हिप० पूर्ण रूपमा मरेको थियो डाक्टर मन्दिपले भने, उनको पुरै हिप रिप्लेशमेन्ट ९खुट्टाको कम्मरमा रहेको गेठी०को प्रत्यारोपण गर्नुपर्ने थियो। ‘हामीले निरोजको हिप रिप्लेशमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी गर्यौं, डा। मन्दिपले भने, ‘उनको बायाँ खुट्टाको हिप रिप्लेशमेन्ट गर्न सफल भयौँ।’
४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुशी छाएको छ। आफूले दोस्रो जीवन पाएजत्तिकै खुशी मिलेको निरोजले बताए। चौरपाटीकी खड्का ४ दिन पहिले घरबाट लडेर घाइते भएकी थिइन्। ७२ वर्षीया खड्काको हिपको जोर्नी भाँचिएको थियो। उनको शुक्रबार सफल शल्यक्रिया भएको हो। डाक्टर मन्दीप पाठकको नेतृत्वको टोलीले खड्काको अर्ध हिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो। आफ्नै ठाउँमा निःशुल्क उपचार हुँदा निकै खुशी लागेको खड्काका ७३ वर्षीया श्रीमान् बज्जिरे खड्काले खुशी व्यक्त गरे।
उमेरले पनि वृद्ध अवस्थाका मान्छे, त्यसमा पनि विभिन्न समस्याका कारणले झन् बढी जोखिम हुने भएपनि डा. मन्दिपको टिमले उनको शल्यक्रिया गरेको हो। ‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण अरू जोखिमसमेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक उनको शल्यक्रिया गर्न सफल भयौँ।’ डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रिया वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भास्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दीप भण्डारी समेत संलग्न थिए। सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा। पन्त र डा। भण्डारी बिहीबार मात्रै काठमाडौंबाट अछाम आइपुगेका थिए। दुर्गम ठाउँमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बीच डा। मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेका छन्।
निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर भास्करराज पन्तका अनुसार सुदूर पहाडमै पहिलो पटक यस्तो खालको अप्रेसन बयालपाटा अस्पतालमा भएको बताए। नेपालका ठूलठूला सेन्टरमा मात्र हुने यो एक प्रकारको ठुलै प्रविधि भएको र यसका लागि आवश्यक पर्ने सबै उपकरण काठमाडौंबाट ल्याइएको उनले बताए। अमेरिकामा बनेको नयाँ कम्पनी जिम्मरको उपकरण यस अप्रेसनमा प्रयोग गरिएको छ। त्यसका लागि प्राविधिक सहयोगी समेत बयालपाटा अस्पताल आएका थिए।
बिरामीलाई अर्धबहोस गराइ भित्र बिग्रेको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी ९गेठी० काटेर त्यसलाई झिकेर त्यसको ठाउँमा कृत्रिम गेठी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर ९ठाउँ० समेत कृत्रिम बनाइने अप्रेशन भएको डा. पन्तले बताए। बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिँड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाइएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डाक्टर भण्डारीले बताए।
डा। मन्दिप पाठकका अनुसार यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ। श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरू खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका र खेलाडीहरूलाई हुन सक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेसन गर्न सकिन्छ। बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिइएको बिरामी आउने गरेका उनको भनाइ छ। अर्थोपेडिक मात्र नभएर डाइलाइसिस सेवा, हाइड्रोसिल, हर्निया, ऐपेण्डिक्स, स्टोन, गलब्लाडर, दूरबिनबाट दिइने सेवा समेत बयालपाटा अस्पतालमा दिन सकिने डा। मन्दिपले बताए।
‘पाका उमेरका नागरिकमा हड्डी खिइने समस्या दुर्गम अझ धेरै छ,’ अर्थोपेडिक सर्जन डाक्टर भास्करराज पन्तले भने शल्यक्रिया गरि उनीहरूलाई हिँड्न बनाउने जोर्नी प्रत्यारोपण भनेको जिन्दगी बचाउने शल्यक्रियाका रूपमा लिने गरिन्छ। बयालपाटा अस्पतालमा यस्ता प्रकारका थुप्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार भएपनि दीर्घकालीन रूपमा अस्पताल सञ्चालनको सुनिश्चिता हुनु अपरिहार्य छ। दुर्गमका जनतालाई शुल्क तिरेर शल्यक्रिया गर्न अप्ठेरो हुने अवस्थामा बयालपाटा अस्पतालमा निःशुल्क शल्यक्रिया हुँदा यहाँका नागरिकले दोस्रो जीवन पाएको अनुभूति गर्छन्।
न्याय हेल्थ नेपालको व्यवस्थापन र सञ्चालनमा रहेको बयालपाटा अस्पताल अहिलेकै मोडेलमा सञ्चालनमा हुनुपर्ने पूर्व जिविस सभापति भरत कुमार स्वाँरको भनाइ छ।