‘हुने गाउँ हिङ्लो
नहुने गाउँ चुच्चाइँ’
यो प्रचलित किंवदन्तीले सभ्य गाउँठाउँमा हिङ्लो हुने कुरा दर्साउँछ । यस्तै सभ्यताको प्रतीकका रूपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरको हिङ्लो (पिङ) फेर्ने काम पूरा भएको छ । मन्दिरको हिङ्लो जीर्ण बनेपछि सालको नयाँ काठमा फलामको साङ्लो राखेर हिङ्लो फेरिएको हो ।
१४ औँ शताब्दीतिर स्थापना भएको भगवती मन्दिर परिसरमा हिङ्लो रहने परम्परा छ । दशरथ चन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरीको हिङ्लोको सालको काठ जीर्ण बनेपछि दार्चुलाको उकुबाट नयाँ काठ ल्याएर हिङ्लो फेरिएको मन्दिर सेवा समितिका अध्यक्ष गणेश थापाले बताए ।
उनले स्थानीय रीतिरिवाज र परम्परा अनुसार हिङ्लोमा झुन्ड्याइने फलामको साङ्लोमा एक अँकुडो थपेर हिङ्लो फेरिएको बताए । हिङ्लो फेर्दा साङ्लोको फलाममा एक अँकुडो थप्ने परम्परा रहेकाले नौ इन्च उचाइ बढेको छ ।