काठमाडौँ — लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फौज ९युनिफिल० का डेपुटी फोर्स कमान्डर ढकाल स्वदेश फर्कने क्रममा हेजबुल्लाह समर्थक प्रदर्शनकारीको आक्रमणमा परेका हुन् । आक्रमणलगत्तै ढकाललाई युनिफिल मिसनअन्तर्गतकै ‘लेबल–३’ अस्पताल लगिएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार ढकालको टाउकामा चोट लागेको छ ।
उनको उपचार भइरहेको र खतरामुक्त रहेको पनि केसीले जानकारी दिए । ढकालसँगै आक्रमणमा परेका अन्य तीन नेपाली शान्ति सैनिकको अवस्था सामान्य छ । ढकाल दुई वर्षदेखि युनिफिल मिसनमा डेपुटी फोर्स कमान्डरका रूपमा कार्यरत थिए । कार्यकाल सकेर नेपाल फर्कन रफिक हरिरी विमानस्थल जाने क्रममा बेरुतनजिकै सडकमा शुक्रबार राति उनी प्रदर्शनकारीको आक्रमणमा परेका हुन् । लेबनान सरकारले दुई इरानी विमानलाई अवतरण गर्न रोक लगाएपछि लडाकु समूह हेजबुल्लाह प्रदर्शनकारीले विमानस्थलको बाटो अवरुद्ध गरेका थिए । उपरथी ढकाल विमानस्थलमा जाने क्रममा दुई वटा गाडीले एस्कर्ट गरेका थिए । तीमध्ये एक गाडी पार भइसकेपछि ढकाल रहेको र उनको पछुवा गाडीमा आक्रमण भएको थियो ।
युनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणप्रति कडा निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गरेका छन् । ‘विमानस्थलको मुख्य सडकमा प्रदर्शनकारी समूहले आक्रमण गर्दा केही शान्ति सैनिक घाइते भएका छन् र युनिफिल गाडीमा पनि आगजनी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता आक्रमण अस्वीकार्य छन । दोषीलाई जवाफदेही बनाउनुपर्छ । संयुक्त राष्ट्रसंघका कर्मचारी र सम्पत्तिको सुरक्षालाई सधैं सम्मान गरिनुपर्छ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति सेनाविरुद्धको आक्रमणलाई मानवीय कानुनलगायत अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन भनी टिप्पणी गरेका छन् ।
यस्ता घटना युद्ध अपराध पनि हुन सक्ने उनको भनाइ छ । महासचिव गुटेरेसले युनिफिलले लेबनानमा शान्ति स्थापनार्थ काम जारी राखेको उल्लेख गर्दै सम्बद्ध सबै पक्षलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ अन्तर्गतका दायित्व पूरा गर्न पनि आग्रह गरेका छन् । सन् २००६ को उक्त संकल्प प्रस्तावअनुसार युनिफिललाई उसका गतिविधि सञ्चालन तथा कार्यान्वयनका लागि लेबनानभर आवतजावतको असीमित स्वतन्त्रता प्रदान गर्नॅपर्छ । सुरक्षा परिषद्को १७०१ प्रस्तावको अन्तिम लक्ष्य लेबनान र इजरायलबीचको स्थायी युद्धविराम भएको महासचिव गुटेरेसले जनाएका छन् । सन् २००६ को लेबनान युद्ध अन्त्यपछि इजरायली सीमामा बनाइएको मध्यवर्ती क्षेत्र अनुगमन गर्न युनिफिल गठन गरिएको हो । दक्षिणी लेबनानका विभिन्न स्थानमा यसका पोस्ट छन् ।
युनिफिल मिसन मुख्यालयले पनि विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापनाका लागि सेवा गरिरहेका शान्ति सैनिकमाथि गरिएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । लेबनानका राष्ट्रपति जोसेफ आउन र लेबनानी सेनाले पनि ढकालमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति आउनले घटना अस्वीकार्य भएको जनाउँदै त्यसमा संलग्नलाई कारबाही गर्ने बताएका छन् । ‘देशको शान्तिलाई अस्थिर र खलल पार्ने प्रयास गर्ने कुनै पनि पक्षप्रति सुरक्षा बलहरू उदार हुने छैनन्,’ राष्ट्रपति आउनले सामाजिक सञ्जालमा लेखेका छन् ।
लेबनानी आन्तरिकमन्त्री अहमद अल–हज्जरले आक्रमण ‘शान्ति सेनाविरुद्धको अपराध’ भएको प्रतिक्रिया दिएका छन । अलजजिराका अनुसार घटनामा संलग्न २५ जनालाई पक्राउ गरिसकेको हज्जरले बताएका छन् । हेजबुल्लाहको सहयोगी समूह अमल आन्दोलनले पनि युनिफिलमाथि दक्षिणी लेबनानमा भएको आक्रमणलाई ‘नागरिक शान्तिमाथिको छुरा प्रहार’ को संज्ञा दिएको छ । लेबनान र इरानबीच उत्पन्न टकरावका कारण लेबनानी सशस्त्र समूह हेजबुल्लाहका समर्थक बिहीबारदेखि बेरुतस्थित रफिक हरिरी विमानस्थलबाहिर भेला भएका थिए । लेबनानले दुई इरानी विमानलाई अवतरण गर्न रोक लगाएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । इजरायल रक्षा बल ९आईडीएफ० ले इरानको कुर्द फोर्सले हेजबुल्लाहलाई हतियार पठाउन अन्तर्राष्ट्रिय उडान प्रयोग गरेको दाबी गरेपछि इरानी विमानलाई बेरुतमा अवतरण गर्न रोक लगाइएको थियो । हेजबुल्लाह र इरानले भने हतियार तस्करीका लागि रफिक हरिरी विमानस्थल प्रयोग भएको अस्वीकार गरेका छन् ।
लेबनानस्थित सिया मुस्लिम संगठन हेजबुल्लाह इरान समर्थित सशस्त्र समूह हो । सन् १९८० को दशकमा गृहयद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनानमाथि नियन्त्रण कायम गरेपछि इरानको आर्थिक र सैन्य सहायताबाट हेजबुल्लाहको उदय भएको हो । इजरायली सेना २४ मे २००० मा दक्षिणी लेबनानबाट फिर्ता भएको थियो । हेजबुल्लाहले आफ्नो कारबाहीका कारण इजरायल लेबनान छाड्न बाध्य भएको बताउने गर्छ । इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर त्यसलाई बेवास्ता गर्दै हेजबुल्लाहले आफ्नो सैनिक संगठन ‘इस्लामिक रेसिस्टेन्स’ लाई थप सुदृढ पार्दै गयो । जसका कारण दुई पक्षबीच तनाव जारी छ ।
प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले जवाफी कारबाही सुरु गरेको थियो । त्यसलगत्तै हेजबुल्लाहले हमासलाई समर्थन गरेपछि इजरायल–हेजबुल्लाह युद्ध सुरु भएको थिय । युद्धका क्रममा हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएपछि द्वन्द्व थप चर्किएको थियो । त्यसको असर इजरायल र लेबनान सीमा क्षेत्र ‘ब्लु लाइन’ (संयुक्त राष्ट्रसंघले दुई मुलुकबीचको विवादलाई कम गर्नका लागि कोरिदिएको सीमा रेखा) मा बस्ने शान्ति सैनिकलाई परेको थियो । २७ नोभेम्बर २०२४ मा अमेरिका, फ्रान्सलगायत देशको मध्यस्थतामा दुई पक्षबीच युद्धविराम भएसँगै लेबनान शान्त बनेको थियो । तर लेबनानमा इरानी विमान अवतरणमा रोक लगाइएपछि तनाव सुरु भएको हो ।
युद्धविराम सम्झौतामा इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको थियो । लेबनानको दक्षिणी क्षेत्रमा रहेका हेजबुल्लाह लडाकु अन्यत्र सर्ने र उक्त क्षेत्रमा लेबनानी सेना परिचालन गरिने सम्झौतामा उल्लेख छ । सम्झौता कार्यान्वयनको अवधि १८ फेब्रुअरीसम्म बढाइएको छ । इजरायलले सम्झौताअनुसार सेना लेबनानबाट फिर्ता गर्न तयार रहेको जनाएको छ । लेबनानले दक्षिणी क्षेत्रमा करिब १० हजार सैनिक तैनाथ गर्दै छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ६ हजारभन्दा बढी सुरक्षाकर्मी शान्ति मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन् । नेपाली सेनाका अनुसार नेपालले हाल लेबनानसहित कंगो, दक्षिण सुडान, सुडान, माली, सिरिया, मध्य अफ्रिकी गणतन्त्र, इराकलगायत देशमा राष्ट्रसंघमार्फत शान्ति सेना खटाउँदै आएको छ । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाउने देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ ।
संयुक्त राष्ट्रसंघले सन् १९४८ देखि शान्ति सैनिक परिचालन गर्न थालेको हो । नेपालले भने त्यसको एक दशकपछि मात्र राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाउन थालेको थिय । नेपाली सैनिक पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनानमा पर्यवेक्षकका रूपमा खटिएका थिए । नेपालले कन्टिन्जेन्टका रूपमा फौजलाई १९७४ देखि खटाउन थालेको हो । नेपाली सेनाले सन् १९७४ देखि लेबनानमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत फौज तैनाथ गराउँदै आएको छ । लेबनानमा हाल बटालियन तहमा ८ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । नेपालले अहिलेसम्म ४४ मिसनमा काम गरिसकेको छ ।