काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको बताएका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोज्दा पनि उत्तर कोरिया भ्रमण गरेर विश्व शान्तिमा योगदान दिएको बताए ।
नेपालले भने, ‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ । म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरुबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौं ।’
पूर्वप्रधानमन्त्री नेपालले कम्बोडियाका राष्ट्रपतिले समेत कुनै बेला आफूलाई युद्धरत पक्ष र राष्ट्रपतिबीच दुवैलाई राखेर कुरा गराउन भूमिका खोजेको स्मरण गरे । नेपालले फिलिपिन्स र अफ्रिकाका नेताहरुले पनि आफूलाई त्यस्तो प्रस्ताव राखेको बताए । नेपालले हीन भावना राखेर होइन, विश्वलाई मिलाउन भूमिका खेल्न सकिने उनले बताए ।