धनगढी: सुदुरपश्चिम प्रदेशसभाका बिषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । शनिबारनै निर्बिरोध निर्वाचित भएका चारै समितिका सभापतिहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले)का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली काँग्रेसका तुल्सी देवकोटाले शपथग्रहण गरेका छन् ।
गत पुस ११ मा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको हो । विशेषाधिकार समिति काँग्रेसको भागमा परेको थियो। आज सोही सहमतिअनुसार काँग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका थिए ।
सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको हो । तर, विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलीरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।