धनगढी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेशले अहिलेको सरकारको निरंकुश प्रवृति अभिव्यक्त गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल,कैलालीले शनिबार धनगढी बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘संसद बोलाउने समयमा अध्यादेश ल्याएर त्यसको छ दिनपछि संसद अधिवेश बोलाउने अहिलेको सरकारको रबैया निरंकुश र घातक छ । अध्यादेशका अन्तरबस्तुका बारेमा हामीले अत्यन्त गलत छ भनेर विरोध गरेको छौँ ।’ उनले सरकारले अध्यादेश पास गर्न नसक्ने भएपछि प्रकृया पर सार्दै लगेको बताए ।
त्यस्तै सञ्चारकर्मीको प्रश्नमा श्रेष्ठले सरकार पार्टीको प्राथमिकतामा नरहेको बताए । उनले भने ‘अहिले सरकार हाम्रो प्राथमिकतामा छैन् । पार्टी रुपान्तरण,जनतासँगको जनसम्बन्ध बढाउने,जनपरिचालमा छ ।’उनले फरक प्रशंगमा बोल्दै पार्टी भित्र गुट उपगुट बढ्यो भन्ने कुरा सत्य नभएको बताउँदै व्यक्तिवाद गुटवाद पार्टीको समस्या भएको र त्यो समाधानउन्मुख भएको बताए । माओवादी केन्द्रले अरु कम्युनिष्ट र क्रान्तिकारी पार्टीसँग पार्टीगत एकता गर्न चाहेको बताउँदै त्यसमा एउटा शक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि भएको बताए । उनले भने एकताको लगातार पहल भइरहेको छ । पार्टी एकताबाट बिमुख भएका छैनौँ ।