धनगढी । भनिन्छ मर्दापर्दा काम लाने भनेकै छिमेकी हुन । तर, बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं टेलर लाई भने जात कै कारण यो उक्ति पनि काम लागेन । शनिवार बिहान ११ बजेतिर ६१ वर्षीय आमा गुमाएका प्रकाशले अन्य जातीकाले छुन नहुने मान्यताका कारण शव आर्यघाटमा पुगाउन सकेका छैनन् ।
मृत्युको खबर सुनेपछि गाउँले जम्मा भए पनि गाउँकै फरक जातीका दलित र गैर दलित समुदायका मानिसले छुन नमिल्ने भनेपछि एक्ला प्रकाश अहिले आगमनै शव कुरेर बसेका छन् ।
आङडेगाडामा झन्डै ६५–७० घरधुरी भए पनि दमाईं जातिमा प्रकाशको एक घर मात्रै छ । प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि अहिले कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनीबाट काकाका छोराहरू बोलाएका छन् ।
महेन्द्रनगरबाट श्याम टेलर र दिनेश टेलर तथा दोधारा चाँदनीबाट नवीन टेलर र गोपाल टेलर हिँडिसकेको उनले बताए । उनीहरू पुगेपछि आइतबार शवको अन्त्येष्टि गर्ने योजना रहेको उनले बताए ।
अहिले पनि सो ठाउँमा एक जातीले अर्को जातीको शव नछुने र छुन पनि नदिने परम्परा कायमै रहेको छ । त्यसैको सिकार एक्ला प्रकाश बनेका छन् । यद्यपि शव नछोए पनि गाउँलेहरू कुर्न भने बसेको उनले बताए ।
वडाध्यक्ष रामचन्द्र ऐरीले भने यस विषयमा अनविज्ञता जनाएका छन् । ‘घटनाबारे विस्तृत रूपमा बुझ्न पाएको छैन । जातकै कारण मलामी नपाएको हो कि के हो बुझ्नुपर्छ,’ उनले भने, ‘टेलर परिवारबाट शव बोक्ने गाडी व्यवस्थापन गर्न आग्रह भएको छ । हामीसँग शव वाहन नभएका कारण छिमेकी पाटन नगरपालिकालाई आग्रह गरेका छौँ ।’
जातकै कारण मर्दापर्दा पनि काम लागेनन् छिमेकी, २ दिन देखि शव आँगनमै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु