धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ ।
पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो । शुक्रबारसम्म गण्डकी प्रदेश राजधानीको वायु प्रदूषण उच्च मापन गरिँदै आइएको थियो ।
आज दोस्रो स्थानमा रहेको भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । त्यस्तै काठमाडौं शंखपार्क १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौंडाको १५९ एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।
वातावरण विभागका अनुसार ०(५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्वस्थ, २०१(३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।