बैतडी –बैतडीमा गएको बिहीबार फेला परेको शवको अझै सनाखत हुन सकेको छैन् । जिल्लाको पाटन नगरपालिका–८ आरुबाटा भीरमा बिहीबार अन्दाजी ४० बर्षीय एक पुरुषको शव फेला परेको थियो । विद्यार्थीहरुले भीरमा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भीरबाट निकालेर उक्त शवको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको भएपनि शवको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । शव सडेको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन् । उक्त शवको पहिचान नभएपछि तत्कालका लागि जिल्ला अस्पतालको शव गृहमा राख्ने तयारी भएको छ । शव सडेको हुनाले थप सड्न नदिने व्यवस्थासहित अस्पतालको शव गृहमा राख्ने तयारी भएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
शवको सनाखत नभएपछि प्रहरीले उक्त शवको हुलिया सार्वजनिक गरेको छ । माथिल्लो शरीरमा निलो ट्रयाक सुट र खरानी रंगको हाइनेक लगाएको र तल्लो शरीरमा कालो रंगको पाइन्ट लगाएको व्यक्तिको शव रहेको प्रहरीले जनाएको छ । उक्त शवको बिषयमा सबै ठाउँमा जानकारी गराइसकिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । सूचना जारी गर्दा समेत कोही सम्पर्कमा नआएमा शव व्यवस्थापन निर्देशिका अनुसार उक्त शवको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पाण्डेयले बताए ।