धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई सदस्य थप भएका छन् । उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो ।
नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले सुदूरपश्चिम सचिवालय सदस्य कर्ण कुँवर रहेका छन् । सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले डा। जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् ।
आजै नै एक समारोहका बिच मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा आयोगकी उपाध्यक्ष डा। जीवन रानाले नवनियुक्त दुई जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छन ।