धनगढी । प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब रोप्ने काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गरेका छन् ।
मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको शहर बनाउने नगरपालिकाको कामले प्रदेशको पनि गौरव बढेको र मन्त्रालयका तर्फबाट सहयोग गर्न प्रतिबद्धता जनाए । ‘गुलाब फुल्ने टीकापुर पार्कलाई संरक्षण गर्ने र टीकापुर पार्कजस्तै बजारमा पनि गुलाब फुलाउनुपर्छ’ मन्त्री चौधरीले भने ‘प्रदेशको वन मन्त्रालयबाट १० हजार फलफूल र शोभायुक्त बिरुवा उपलब्ध गराउने प्रतिवद्धता गर्दछु ।’
प्रदेश सभा सदस्य ललिता सुनार पनि प्रेम दिवसमा सुरु भएको गुलाब रोप्ने अभियान प्रेमपूर्वक अघि बढ्ने अपेक्षा गर्नुहुन्छ । टीकापुरको शहरी क्षेत्रमा गुलाब फुलाउन विभिन्न विद्यालय, व्यापारिक फर्मलाई जिम्मा लगाइएको छ ।
गुलाबको शहर बनाउने योजनाले व्यवसायीहरु उत्साहित भएका छन् । होटल व्यवसायी कृष्ण न्यौपाने बहुजाती, बहुभाषी टीकापुरमा गुलाबको प्रवर्धनले जातजातीबिच आत्मियता बढ्ने अपेक्षा व्यक्त गर्नुहुन्छ । अर्का व्यवसायी टीकाराम जोशी गुलाबको फूलको प्रवर्धन गरेर टीकापुर द्वन्द्वमा होइन मेलमिलाप र शान्तिमा छ भन्ने देखाउन सकिने बताए ,
टीकापुर नगरपालिकाको गुलाबी शहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग मिलेको छ । नगरपालिकाले मुख्य शहरको एक हजार ६ सय मिटर लम्बाइको सडकको दुबैतिर क्यारीलाई तारबार गरेर २७ वटा समूहलाई बाँडिदिएको छ । आफ्नो जिम्मामा परेका क्यारीमा विद्यालय, संघ संस्था र व्यापारिक फर्महरुले गुलाबका बोटहरु किनेर रोप्ने र हुर्काउने जिम्मा लिएका छन् । क्यारीमा ८० सेन्टिमिटरको फरकमा दुई लहरमा बिरुवा रोपिदैछ । यसरी रोप्दा यो क्षेत्रमा आठ हजार बिरुवा लाग्नेछन् ।
५० भन्दा बढी प्रजातिका गुलाबहरु फुल्ने टीकापुर पार्कका कारण टीकापुर पर्यटकीय शहर मानिन्छ । टीकापुर पार्कमा वर्षमा दुई लाखभन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् । टीकापुर नगरपालिकालाई गुलाबको शहरका रुपमा चिनाउन लागिएको नगर प्रमुख रामलाल डँगौरा थारुको भनाइ छ ।