धनगढी । कैलालीको गोदावरी नगरपालिकाले २ वर्ष अघि नै मोहना–अत्तरिया ६ लेन सडक खण्डको गोदावरी क्षेत्रमा स्ट्रिट लाइट सडक बत्ती जडान गर्ने निर्णय गरेको भए पनि अझै काम सुरु हुन सकेको छैन । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजना सँगको साझेदारीमा सडक बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको थियो । तर, सझौता कार्यान्वयनको जिम्मा पाएको साझेदार कार्यालयको लापरबाहीका कारण सडक बत्ती जडानमा ढिलाइ भएको छ ।
सडक बत्ती जडानका लागि ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले लागत साझेदारी काम गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार नगरपालिकाले रकम उपलब्ध गराएपछि कार्यान्वयनको जिम्मा सडक बत्ती प्रवर्धन आयोजनाको थियो । सम्झौता अनुसार नगरपालिकाले सडक बत्ती जडानका लागि २ चरणमा गरेर १ करोड ९६ लाख ५६ हजार ४ सय रुपैयाँ भुक्तानी गरिसकेको भए पनि जडानको कार्य सुरु हुन सकेको छैन ।
६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा सडक बत्ती जडानका लागि ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँको अनुमानित लागत तयार गरिएको थियो । सम्झौता अनुसार नगरपालिकाले पहिलो चरणमा ५० प्रतिशत अर्थात् ९८ लाख २८ हजार २ सय रुपैयाँ गत वर्ष असार २१ गते बुझाएको थियो भने बाँकी रहेको रकम यही माघ ११ गते बुझाई सकेको छ ।
सझौता कार्यान्वयनको जिम्मा पाएको सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले भने एकमुष्ट २२ वटा पालिकामा काम गर्दा ढिलाइ भएको जनाएको छ । आयोजनाका मेनेजर प्रमोद रिजालले टेन्डर लगायतका अन्य प्रक्रियाहरू सम्पन्न भइसकेकाले अबको १र२ महिनाभित्रै सडक बत्ती जडानको प्रक्रिया सुरु हुने बताए ।
देशभरका २२ वटा पालिकाहरूको विद्युतको कार्य सँगै भइरहेकाले कसैले समयमै भुक्तानी नगर्दा काममा केही ढिलाइ भएको उनले बताए । उनले सम्पूर्ण टेण्डर प्रक्रिया सम्पन्न भइसकेकाले अबको केही समयमा निर्माणको कार्य सुरु गरिने बताए । रिजालका अनुसार ६ लेन सडकमा सडक बत्ती जडानका लागि काठमाण्डौको सुरुवे ऊर्जा प्राइभेट लिमिटेडसँग सम्झौता भएको छ ।
यता गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले चालु आर्थिक वर्षभित्रमै ६ लेन सडकमा सडक बत्ती बल्ने बताएका छन् । उनले प्रक्रियागत रूपमा केही अवरोध आएका कारण ढिलाइ भएको भन्ने जानकारीमा आएको बताए ।