धनगढी । कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्यसहित धनगढीमा संञ्चालन भएको पाँच दिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा २७ हजार भन्दा बढी दर्शेकले अवलोकन गर्दा करिब ३ करोड भन्दा बढीको आर्थिक कारोबार भएको कृषि निर्देशनालयका कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए ।
कैलालीको धनगढीमा पाँच दिन सम्म सञ्चालन भएको मेलामा सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराईको थियो । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न आयोजना गरिएको कृषि प्रदर्शनी मेला उदेश्य पुरा गर्ने सफल भएको दावी गरे । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्ने सफल शर्माले दावी गरे ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गतेसम्म संञ्चालन भएको मेलाको समापन कार्यक्रमा बोल्दै कृषि मन्त्री विर बहादुर थापाले प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन मेलामा देखिएको बताए । उनले सम्भावनाको खोजी गर्न गरिएको कृषि प्रदर्शनी मेलाले आगामी दिनमा कृषि क्षेत्रमा थप के कति सुधार गर्ने सकिन्छ भन्ने कुरा देखाएको बताए ।
प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न मेला आयोजना भएको र त्यसमा किसानले धेरै कुरा सिक्ने अवसर समेत पाएको मन्त्री थापाले बताए ।
मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिएको थियो । मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी समेत किसान लाई दिएको मन्त्रालयका सचिव यज्ञराज जोशीले बताए । उनले कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफल समेत भएको हुदाँ आगामी दिनमा किसान कृषि पेशा लाई थप अगाडी बढाउँन सहज हुने बताए ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरेको उनले बताए । सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचारप्रसारमा सहयोग पुगेको उनले बताए । मेलामा विभिन्न विधाका कृषक र विभिन्न क्षेत्रमा योगलान दिएको भन्दै सम्मान पनि गरिएको छ ।