धनगढी । कैलाली कारगाबाट फरार भएका गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देवसिंह ठकुरी भनिने दीपकबहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ठकुरी बुधबार बिहान कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले कैलाली प्रहरीको पाँच सदस्यीय टोलीले ठकुरीलाई पक्राउ गरेर ल्याएको जानकारी दिए । ‘कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि कैद भुक्तान गरिरहेको समयमा २०६९ साल असोज २२ गते ठकुरी कैलाली कारागारबाट फरार भएका थिए,’ एसपी बिष्टले भने, ‘उनी भारतमा लुकेर बस्दै आएको अवस्थामा २०८० मंसिरमा भारतीय प्रहरीले पक्राउ गरेको थियो । त्यहाँबाट धरौटीमा रिहा भएको खबर पाएपछि हामीले गड्डाचौकी टोली पठाएका थियौं ।’
२०८० मंसिरमा ठकुरी बैंक लुटपाट तथा सुनचाँदी पसल लुटपाट गरेको घटनामा भारतको मुम्बइमा पक्राउ परेका थिए । ठकुरीले २०६२ असोज २ गते गोदावरीकै मानबहादुर सुनारको हत्या गरेको अभियोग छ । उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल फिर्ता भएर पेस हुन बाँकी रहेको एसपी बिष्टले बताए ।
यस्तै २०६४ साल फागुन २४ गते गोदावरीकै भक्तबहादुर भनिने बमबहादुर साउँदलाई ठकुरीले गोली प्रहार गरी हत्या गरेको मुद्दामा भने फैसला भइसकेको छ । सोही मुद्धामा जिल्ला अदालत कैलालीको फैसलाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
ठकुरी पहिलोपटक २०६६ असार १० गते हातहतियार सहित पक्राउ परेका थिए । सोही कारण उनीविरुद्ध हाततियार तथा खरखजना मुद्धा पनि छ । उनीवरुद्ध अपहरण गरी शरीर बन्धन गराएको मुद्धा पनि छ । २०६५ असार १० गते धनगढी उपमहानरपालिकाको फुलवारीका शोभान टमटाको अपहरण गरेको अभियोग ठकुरीमाथि लागेको थियो ।
एसपी बिष्टले ठकुरीविरुद्ध थप एक मुद्दा आकर्षित भएको बताए । कारागारबाट भागी फरार भएको मुद्दा पनि ठकुरीमाथि लाग्ने एसपी बिष्टको भनाइ छ ।