धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो अभियान थालनी गर्ने योजनाका साथ तयारी भइरहेको हो ।
टीकापुर नगरप्रमुख रामलाल डंगौरा थारुले अभियान अन्तर्गत नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्डे«न पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा गुलाफका बिरुवा रोपिने जानकारी दिए ।
यसैबिच टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुवैतर्फ ग्रीन लेनमा पनि तालजाली लगाइएको छ । नगर प्रमुख थारुले ‘भ्यालेन्टाइन–डे’का दिन नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायतको सहभागितामा १० हजार गुलाफको बिरुवासहित अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा रोप्ने बताए ।
नगर प्रमुख थारुले अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए। टीकापुरमै कर्णाली नदीको तटमा टीकापुर बृहत् उद्यान पार्क छ, जहाँ विभिन्न ३६ प्रजातिका गुलाफ पाइन्छन् । तिनै गुलाफका बिरुवालाई रोप्दै जाने र एक वर्षमा गुलाफको सहर बनाउने पालिकाको परिकल्पना छ ।
नगरपालिकाले यो अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ । नेपाली कांगे्रसका स्थानीय नेता नवराज रावलले समयमा सोच नपु¥याउँदा अहिले गुलाफ रोप्ने ठाउँका ढुङ्गा उठाउन ठुलो श्रमदान गर्नुपरेको बताए । गुलाफको सहर बनाउने भनेर टीकापुरको प्रचारप्रसार भइरहेकाले यसलाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।
टीकापुरका पर्यटन व्यवसायी टीकाराम जैसीले एक पटक अभियानका रूपमा लाग्दा बिरुवा रोप्न सकिए पनि जोगाउन कठिन हुने भएकाले पानीको व्यवस्था मिलाइदिएर संघ–संस्थालाई जिम्मा दिनुपर्ने सुझाव दिए ।
नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले गुलाफको सहर बनाउन ठुलो लगानी चाहिने भएकाले नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । बिरुवा हुर्काउन धेरै मेहनत चाहिने भन्दै उनले सिँचाइका लागि स्थायी जनशक्ति व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कृषि विज्ञ कृष्ण न्यौपानेले जंगली गुलाफलाई हाइब्रिड बनाएर ४५ डिग्रीसम्म तापक्रम थेग्न बनाउन सकिने र त्योभन्दा बढी तापक्रम भए गुलाफका लागि उपयुक्त नहुने बताए ।