धनगढी – कैलालीको धनगढीमा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सोमबार धनगढी उपमहानगरपालिकाको आयोजना र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
दिनदिनै वैदेशिक पलायन हुनेको सङ्ख्या बढिरहेको अवस्थामा सुरक्षित भएर कसरी वैदेशिक रोजगारीमा जान सकिन्छ भन्ने जानकारी समाजमा प्रवाह गर्ने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।कार्यक्रममा श्रम स्वीकृतिको अवस्था, पुनः स्वीकृतिको अवस्था, श्रम स्वीकृतिको आधारमा सीप तथा दक्षताको वर्गीकरण, वैदेशिक रोजगारीमा पलायन हुने पुरुष र महिलाको सङ्ख्या, विप्रेषण प्रवाह वैदेशिक रोजगारीबाट उत्पन्न जटिलता र ती जटिलतालाई समाधान गर्ने सरोकारवाला निकायको बारेमा पत्रकारहरूलाई धनगढी उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख टङ्क विष्टले जानकारी दिएका थिए ।