अछाम : मंगलसेन नगपालिका-७ मा रहेको जाल्पादेवी माध्यमिक विद्यालय दुई महिनादेखि अशान्त छ । हरेक दिनजसो विद्यालय संचालन हुने बेला अर्थात् बिहान १० बजेदेखि विद्यालय हाताभित्र कोलाहल मच्चिन्छ । यस्तो कोलाहल सुरु भएको २ महिना बितिसकेको छ । कक्षा २ मा अध्ययनरत एक छात्रा एकदिन कक्षाभित्रै बेहोसजस्तै भइन् । विद्यालयकी नर्स मोतीसरा सुवेदीले उनको सामान्य जाँच गरिन् । तर उनको अवस्था दोस्रो दिन पनि उस्तै रहृयो । पछि त कक्षाका अरू विद्यार्थीमा पनि यस्तै समस्या देखियो ।
अहिले जाल्पा माविमा हरेक दिनजसो विद्यार्थी यसै गरी बेहोस भइरहेका छन् । एक दिन त २७ जनासम्म विद्यार्थीमा यस्तो समस्या देखियो । बेहासजस्तो देखिने विद्यार्थी ५ मिनेटसम्म छटपटाउँछन्, चिच्याउँछन् र ठूलो स्वरले कराउँदै रुन्छन् । दुई दर्जन बढी विद्यार्थीमा हरेक दिन यस्तो समस्या देखिएपछि अहिले विद्यालयको पढाइ नै प्रभावित भइरहेको छ । कक्षा २ देखि १० सम्मका धेरै छात्रामा यस्तो समस्या देखिएको छ । नर्स सुवेदीका अनुसार विद्यार्थीमा सुरुमा टाउको दुख्ने, पेट दुख्ने, शरीर काँप्ने, रिंगटा लागेर ढल्ने जस्ता समान समस्या देखिएका छन् । उनले समस्या देखिएका विद्यार्थीमध्ये केहीका बाबुआमा रोजगारीका लागि भारत गएकाले घरमा एक्लै बस्ने गरेका वा घरका सदस्यले मदिरा सेवन गर्ने र होहल्ला गर्ने गरेकाले तनावमा रहेका बढी रहेको बताइन् । समस्या देखिएका विद्यार्थीका अभिभावकले अन्धविश्वासमा परेर ‘देउता लागेको’ भन्दै उनीहरूलाई विद्यालय नपठाउने गरेको उनले बताइन् ।
एक १२ वर्षीया छात्रामा भने यो समस्या बढी देखिन्छ । किनकि, उनी हरेक दिन विद्यालयमा उस्तै तरिकाले ढल्न थालेको २ महिना भयो । उनका बुवाआमा लामो समयदेखि भारतमा काम गर्ने र उतै बस्दै आएका छन् । दुई भाइलाई पनि उनका बुवाआमाले साथमै लगेका छन् । घरमा बाजेबज्यैसँग बस्दै आएकी उनलाई एक्लोपनले सताएको हुन सक्ने विद्यालयका शिक्षकले बताए । ती छात्राले भनिन्, ‘सरले पढाउन थालेका बेला अनेक सोचाइ मनमा आउँछन् । शरीर काँप्छ अनि ढल्छु ।’ उनले आफ्नो समस्या समाधान गर्न भन्दै घरका मान्छेले आफूलाई केही धामीझाँक्रीकहाँ लगेको पनि बताइन् । उनले भनिन्, ‘जिल्ला अस्पतालमा पुगेर पनि उपचारत गरेको हो । तर मलाई दिनदिनै गाह्रो भइरहेको छ ।’ विद्यालयकी अर्की ११ वर्षीया छात्राको कथा पनि उस्तै छ । उनी विद्यालयमा ढल्न थालेको दुई महिना भयो । अरूजस्तै उनी पनि रिंगटा लागेर दिनमा तीनरचार पटक ढल्छिन् । कक्षामा सधैं दोस्रो स्थानमा आउने उनी दुई महिनादेखि पढ्न सकिरहेकी छैनन् ।
उनको समस्याप्रति घरका र गाउँका मान्छेको फरक बुझाइ छ । उनीहरूले विद्यालय हाताभित्र देउता राखिएको र अब यस्तो नहुने भन्दै हल्ला फैलाएका छन् । उनी भने उल्टै देउताको त्रासमा छिन् । ‘कहिलेकाहीँ बुवाले आमालाई कुट्दा रातभर अनिँदो हुन्छु । सुत्न पाएकै हुँदैन । स्कुलमा आउँदा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘कसैले बोल्दा पनि रिस उठ्छ । आफूलाई परेको समस्या स्कुलमा साथीहरूलाई पनि सुनाउँछु । मेरो जस्तै समस्या भएकाहरू पनि रुन थाल्छन् ।’
मंसिर पहिलो साता कक्षा २ का छात्रा ढल्न थालेपछि समस्या सुरु भएको विद्यालयका प्रधानाध्यापक बलबहादुर थ्यायतले बताए । उनका अनुसार पहिलेका वर्षमा गर्मी समयमा छात्राहरू ढल्ने गरेकामा यस वर्ष भने हिउँदमा नै यस्तो समस्या देखिएको हो । विद्यालयमा छात्रा ढल्न थालेपछि धेरै अनियमित भएको र केहीले विद्यालय छोड्ने अवस्था आएको छ । ‘विद्यालयमा समस्या आउने वित्तिकै नगरपालिकालाई पत्र लेख्यौं । त्यताबाट मनोसामाजिक विमर्शकर्ता आए । उनीहरूले पनि काउन्सिलिङ गरे । तर पनि ढल्ने क्रम रोकिएको छैन,’ प्रअ थ्यायतले भने, ‘विद्यालयमा भूत छ भन्ने अन्धविश्वास विद्यार्थीदेखि अभिभावकसम्मको मनमा छ । यही कारणले समस्या झन् बल्झिरहेको छ ।’ हरेक समय छात्राहरू ढल्ने भएकाले पढाइमा अवरोध भएको उनले बताए ।
कमजोर आर्थिक अवस्था भएका, साथमा बुवाआमा नभएका, घरमा लैंगिक हिंसाका भइराख्ने छात्रामा यस्तो समस्या बढी देखिएको एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसिएमसी० प्रमुख गंगा बुढा मगरले बताइन् । ‘विद्यालयमा गएर पनि काउन्सिलिङ गर्यौं । गम्भीर समस्या देखिएकालाई औषधि खुवाउन पनि सुरु गरेका छौं,’ उनले भनिन्, ‘धेरै प्रयास गर्दा पनि समस्या बढिरहेको छ । अब सबै सरोकारवाला बसेर यसलाई छलफलको विषय बनाउन आवश्यक छ ।’ केही न केही तनावमा भएका छात्रा यसरी ढल्ने गरेको र त्यसलाई मास हिस्टोरिया भनिने उनले बताइन् । उनका अनुसार ११ जना किशोरीमध्ये ७ जना किशोरीले लैंगिकतामा आधारित हिंसा ९जीवीभी० को सामना गरिरहेका छन् । अभिाभवकले उपचार गर्न नमान्ने, औषधि खान नदिने गरेकाले समस्या झन् जटिल बन्दै गएको उनले बताइन् ।
हिंसा, लडाइँ , झगडा , द्वन्द्व, कलह, दबाब, प्राकृतिक विपत्ति, विछोडजस्ता कारणले कन्भर्जन डिसअर्डर हुने गरेको सीएमसी नेपालकी मनोसामाजिक परामर्शकर्ता पार्भती बोहराले बताइन् । आफ्नो कार्यक्षेत्रभित्र पर्ने जाल्पा माविका धेरै छात्रालाई कन्भर्जन डिसअर्डर देखिएको उनले बताइन् । ‘जिल्ला अस्पतालमा ती छात्राहको स्वास्थ्य जाँच गर्दा अरू कुनै समस्या देखिएन, कन्भर्जन डिसअर्डर भएको थाहा पाएपछि लगातार एक महिनादेखि हामीले काउन्सिलिङ गरिरहेका छौं,’ उनले भनिन्, ‘यहाँका केही छात्रामा गम्भीर समस्या पनि देखिएको छ । तर, अभिभावक र समाजले यो कुरा मान्न तयार भएको देखिँदैन । यहाँका दिनहुँजसो ढल्ने छात्रामा केही न केही समस्या देखिएकै छ ।’
मनोविद् डा। नरेन्द्रसिंह ठगुन्ना यस्तो समस्या आफ्नो मनोभाव राम्रोसँग व्यक्त गर्न नसकेपछि उत्पन्न हुने बताउँछन् । उनले यस्तो अवस्थामा मनोभावहरू अवचेत रूपमा कुराहरू प्रकट हुने बताए । उनले मनभित्रको उकुसमुकुस लामो समय रहँदा यसले मनोवैज्ञानिक समस्या निम्त्याउने गर्छ । उनले भने, ‘अझ लैंगिकतामा आधारित हिंसा भोगेकामा यस्तो समस्या बढी देखिन्छ । किनकि, उनीहरूले यस्तो कुरा सामाजिक रुपमा पनि भन्न सकिरहेका हुँदैनन् ।’ यस्तो समस्या धेरै व्यक्तिमा एकैचोटि देखिनुको कारणमा मन मिल्ने साथीमा यस्तो समस्या देखिएपछि यो कुरा त्यस्तै समस्या भएका अन्य साथीहरूमा पनि उस्तै गरी प्रकट हुने उनले बताए ।कान्तिपुरबाट