धनगढी । नेकपा एमालेले सुरू गरेको जरा अभियान अन्तरगत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा परामर्श बैठक सम्पन्न भएको छ ।िअभियान अन्तरगत शनिबार एमाले पार्टी कार्यालयमा संघीय निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय समितिको परामर्श बैठक बसेको हो ।
संघीय निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय समितिका संयोजक गोपाल पाठकले परामर्श बैठकमा क्षेत्र नम्बर ५ मा पार्टीको विभिन्न तहमा प्रतिनिधित्व गर्ने नेताहरूसँग जरा अभियानबारे छलफल गरिएको थियो । बैठकले अभियानको कार्ययोजना बनाउन सबैसँग सुझाव मागेको छ । एमालेकी पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ कि इन्चार्ज लिला भण्डारीले बैठकका उदेश्यबारे प्रकाश पार्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ पार्टीले जरा अभियान सञ्चालन गरेको बताइन् ।
पार्टीले चलाएको मिसन ग्रासरूट अभियानबाट तल्लो तहसम्म कमिटीको अवस्थाबारे बुझ्ने अवसर मिलेको र जरा अभियानले पार्टीलाई मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । यस्तै पोलिटब्युरो सदस्य तथा कैलाली पार्टी इन्चार्ज नारदमुनी रानाले जरा अभियानले पार्टीको वडा तहमा भएका समस्या पहिचान गर्दै समाधान गर्न सहयोग पुगाउने बताए । उनले क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडा गरेर २१ वटैमा जरा अभियानमा जिम्मेवारी तोकेर खटाइने बताए ।
त्यसरी खटिने नेताले वडाहरूका समस्या पहिचान गर्नेछन् र समाधानका लागि पार्टी कमिटीलाई सुझाव दिनेछन् । समन्वय समितिका संयोजक पाठकले शनिबार पहिलो बैठक भएकाले नेताहरूबाट सुझाव संकलन गरिएको बताए। एमालेको केन्द्रीय कमिटी बैठकले माघ, फागुन र चैतमा सबै निर्वाचन क्षेत्रमा जरा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियोे ।