थारू जातिमा मात्रै देखिने सिकलसेल एनिमियाको उपचारका लागि टीकापुर अस्पताल सूचीकृत गरिएको छ । यसअघि त्यसको उपचारका लागि नेपालगन्ज वा धनगढीलगायतका ठाउँ जानु पथ्र्यो । नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार टीकापुर अस्पताल सिकलसेल एनिमियाको उपचारका लागि सूचीकृत भएको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ ।
सिकलसेलको उपचार विशेषज्ञ डाक्टरबाट गरिने विशिष्टीकृत सेवा भएकाले लामो समयको प्रयास र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि टीकापुर अस्पताल सूचीकृत भएको बताउँदै टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले एमडी प्याथोलोजिस्ट भर्ना गरेपछि सूचीकृत हुने बाटो खुलेको बताए । अस्पतालमा उपकरण छन्, पाँच बेडको वार्ड बन्दै छ, चाहिने औषधी व्यवस्था गरेर चाँडै उपचार सेवा सुरु गर्ने उनले बताए ।
पछिल्ला वर्षमा स्थानीय पालिकाले बर्सेनि सिकलसेल एनिमियाको परीक्षण गराउने गरेको छ । परीक्षणका क्रममा नयाँ बिरामी पत्ता लाग्ने र सयौँको सङ्ख्यामा सिकलसेल ट्रेट सिकलसेलवाहक सेल फेला पर्ने गरेका छन् । सिकलसेल पोजेटिभ ट्रेट भएका युवाले बिहे गरेमा उनीहरूबाट जन्मिने बालबालिकामा पनि सिकलसेल देखिने गरेको छ ।
रक्तअल्पता भएका बिरामीको परीक्षण गर्ने, सिकलसेल एनिमिया भएका बिरामीलाई हेमोग्लोबिन कम भएमा रगत चढाउनु पर्छ । भिटामिन र औषधी जीवनभर खानुपर्ने हुन्छ । पश्चिम नेपालका थारू समुदायमा मात्रै देखिएको सिकलसेल वंशाणुगत रोग हो । सिकलसेल भएमा रक्तकोष हँसिया जस्तै बङ्गिने र फुटने गर्छन् । रक्तअल्पता हुने, खाना नपच्ने र मानिस कमजोर हुँदै जाने भएकाले यसको औषधीका साथै पोषण र बेलाबेलामा रगत चढाउनुपर्ने हुन्छ । समयमै उपचार गरे अवस्था खराब हुनबाट जोगिन्छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा सिकलसेलका नौ सय जनाभन्दा बढी र निजी क्षेत्रमा घोडाघोडी अस्पतालमा ३५० जना बिरामी दर्ता छन् । टीकापुर अस्पतालमा सिकलसेलको उपचार सुरु भएमा ती अस्पतालको चाप पनि घट्ने छ ।