धनगढी । प्रहरीले कैलाली कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई पक्राउ गरेको छ । शनिवार प्रहरीले कैलालीको धनगढी, टीकापुर, गोदावरी, गौरीगंगा र कञ्चनपुरको पुनर्वासबाट ११ जनालाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका – ३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका – ८ का ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका – ३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँका २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।
यसै गरी गोदावरी नगरपालिका – २ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका – १ का २६ वर्षीय राजन हमाल १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।
गोदावरीकै वडा नम्बर ३ मालिका टोल जाने बाटो नजिकबाट स्थानीय १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी – १ का २३ वर्षीय नितेस महरा पनि ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।
यस्तै गौरीगंगा नगरपालिका – १ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – २ का २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको छ । यसैबिच कञ्चनपुरको पुनर्वास नगरपालिका – १० अमरबस्ती स्थित चकमेली बजारबाट गोदावरी नगरपालिका – १ अनामनगरका २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रवीन्द्र ओली १ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।
शनिवार नै पुनर्वासकै वडा नम्बर ११ डोकेबजारबाट पुनर्वास – १० भिमबस्तीका २० वर्षीय रोशन सिंह साउदलाइ ट्याब्लेट थान १३ र क्याप्सुल थान २१ सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।