कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय र आइआइटी रुड्कीद्धारा आयोजित सम्पदा, नवप्रवर्तन र रूपान्तरण सम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले ९ बुँदे सुझाव दिएका हुन् । उनले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउनेगरि शिक्षकहरूको गुणस्तर र पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्ने, स्थानीय र अन्तर्राष्ट्रिय समस्याहरू तथा आवश्यकता माथि अनुसन्धान केन्द्रित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्थानहरू र उद्योगहरूसँग सहकार्य गरेर अनुसन्धान परियोजनाहरू अगाडी बढाउनु पर्ने , विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई विश्वस्तरीय बनाउनु पर्ने प्रदेश प्रमुखका सुझाव थिए ।
त्यस्तै अन्तर्राष्ट्रिय अनुसन्धान पत्रहरूको डिजिटल पुस्तकालयको व्यवस्था गर्नु पर्ने , विद्यार्थीलाई आत्मनिर्भर बनाउने योजना र अन्य देशका विश्वविद्यालयमा पनि अध्ययन गर्न पाउनेगरी कार्यक्रम लागु गर्न पर्ने , नवीनतम शिक्षण विधिहरू लागू गर्नुपर्ने र विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्नुपर्ने प्रदेश प्रमुखले सुझाव दिएका थिए । प्रदेश प्रमुख मियाँले अन्तर्राष्ट्रिय सम्मेलनले शैक्षिक सहकार्य र बौद्धिक आधान प्रदानमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपालभित्रका र बाहिरका विश्वविद्यालयका विज्ञहरूको उपस्थिति रहेको छ । अन्तर्राष्ट्रिय सम्मेलन तीन दिनसम्म जारी रहने छ ।
नेपालमा भएका अनुसन्धान, विकास र परिवर्तन सम्बन्धमा विशेष तह विभिन्न आठ ओटा विषय सम्मेलनमा समावेश गरिएको छ । जसमा सामाजिक धारणा, योजना, विकास, कला र संस्कृति लगायतका विषयहरूको अनुसन्धानमा सहभागीताका लागि आह्वान गरिएको थियो । जसमध्ये छनौटमा परेका विषयहरूलाई सम्मेलन मार्फत तीन ओटा हलमा सञ्चालन गरिने जनाइएको छ ।
सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न १३ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । विश्वविद्यालयले यस अघि सन २०२२ मा अक्सफोर्ड युनिभर्सिटीको समन्वयमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।