धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसंगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
शुक्रबारको खेलमा पराजित भए पनि बुटवल समान दुई अंक रहेका बैतडी काठमाडौंलाई रनरेटमा पछडि पार्दै अन्तिम चारमा पुगेको छ । यसअघि नै अत्तरिया, फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगिसकेका थिए । अब सेमीफाइनलमा समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसंग खेल्ने छ । यस्तै समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासंग खेल्ने छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । एक सय ८९ रनको लक्ष्यसहित मैदान उत्रिएको बुटवलले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १० रन मात्रै बनाउनसक्यो । उसका लागि प्रतिक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र बीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई–दुई विकेट लिए । कमल गुप्ता र दिपेश कडेलले एक–एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । अत्तरियाका भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ३९ बलमा ५८ तथा यादवले ३८ बलमा ५१ रन बनाए । यादव खेलका म्यान अफ द म्याच भए । यस्तै, शंकर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले दुई तथा बीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक–एक विकेट लिए ।
गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।