धनगढी: सांसद एवम् पुर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो प्रयासले धनगढी–खुटिया सडकका लागि बजेट विनियोजन भएको दाबी गरेका छन । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफ्नो प्रयासबाट बजेट विनियोजन भएको बताएका हुन । डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको दाबी गर्दै केही तत्वहरुले अनावश्यक हल्ला फिँजाई रहेको बताए ।
उनले भने, ‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे । बजेट विनियोजन गराए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिँजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन् कि प्रदेशका मन्त्री, सांसदले ?’
यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरूले बजेट विनियोजन नगराएको स्पष्ट पार्दै आफ्नो एकल प्रयास र मिहिनेतले बजेट पार्न सफल भएको जिकिर गरे ।