धनगढी । दशरथ चन्द एकेडेमी बैतडीले बिहीबारको खेलमा जित निकालेपछि सिवाइसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यसअघि समूह ‘ए’ बाट फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा प्रवेश गरिसकेका थिए भने समूह ‘बी’ बाट अत्तरिया पनि अन्तिम चारमा पुगेको हो । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो भने शुक्रबार हुने अत्तरिया र न्यू होराइजन बुटवलको खेलपछि लाग्ने छ ।
बिहीबार भएको दिन पहिलो खेलमा बैतडीले क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १६ रनले पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । बैतडीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.४ ओभरमा एक सय ४४ रनमा समेटियो । काठमाडौंका लागि राज शाहले ३७, दीपेन्द्र रावतले ३२, शुभ कङ्साकारले २६ र कप्तान नन्दन यादवले २० रन जोडे पनि टिमलाई जिताउन सकेनन् । बैतडीका सालुहुद्धिन खानले पाँच तथा दिवान पुनले तीन विकेट लिए ।
त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । उसका लागि दिवान पुन ४३ रन बनाए । उनी खेलका म्यान अफ द म्याच भए । यस्तै, बसन्त खत्रीले ३२ तथा अमर रौतेलाले २९ रन जोडे । काठमाडौंका दिपेन्द्र रावत र सुर्य तामाङले दुई–दुई तथा नन्दन यादव, राज शाह र युनिश ठकुरीले एक–एक विकेट लिए ।
यस्तै, प्रतियोगितामा घोडाघोडी–११ सुख्खडले सान्त्वना जित निकालेको छ । बिहीबार भएको दिनको दोस्रो खेलमा सुख्खडले डडेल्धुरालाई एक विकेटले पराजित गरेको हो । एक सय २५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको सुख्खडले १९।५ ओभमार नौ विकेट गुमाउँदै पूरा ग¥यो । सुख्खडको जितमा आयुव चन्दले ३३, योगेश भाटले २० तथा टेक रावत र कप्तान शेर मल्लले समान १८–१८ रन जोडे । डडेल्धुराका हेमन्त धामीले तीन, अविशेक गौतमले दुई तथा कैलाश ऐर, कुशल भुर्तेल र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डडेल्धुराले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २४ रन बनायो । उसका लागि विनोद भण्डारीले ५६ रन जोडे । यस्तै, कुशल भुर्तेलले १३, आयुषमान बमले ११ तथा गजेन्द्र बोहराले १० रन बनाए । सुख्खडका नरेन साउदले चार विकेट लिए । उनी खेलका म्यान अफ द म्याच भए । यस्तै, सुर्य श्रेष्ठले दुई तथा सञ्जय बोहरा र भुपेश जोशीले एक–एक विकेट लिए ।
आजको खेलमा पराजित भए पनि डडेल्धुरा समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । डीसीए धनगढी समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा डडेल्धुराले समूह ‘बी’ को उपविजेता तथा धनगढीले समूह विजेतासंग खेल्नेछ ।