धनगढी: नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत ९एसियन स्मल क्लावड ओत० १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो प्रजातिको ओत नेपालमा देखिएको थिएन । लामो समयावधिसम्म सानो ओत देखा नपर्नु र अस्तित्वको कुनै ठोस प्रमाण नभेटिनुले सानो ओत नेपालबाट लोप भएको आशङ्का गरिएको थियो ।
डडेलधुरामा सो प्रजातिको ओत फेला पर्नुले सानो ओतको अस्तित्व अझै कायम रहेको पुष्टि भएको छ । डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत राजीव चौधरीका अनुसार गत मङ्सिर (सन् २०२४ नोभेम्बर) मा रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलबाट स्थानीयले सानो ओतको छाउरालाई पक्रेर ल्याएका थिए । “हामीलाई खबर आएपछि त्यसको उद्धार गरेर केही दिन पालनपोषणपछि फेरि प्राकृतिक वासस्थानमा छोडेका छौँ,” भने, “साथै प्रजाति पहिचानका लागि फोटो खिचेर मैले अरू विज्ञलाई पठाएको थिएँ ।”
मोहनविक्रम श्रेष्ठ, गङ्गा श्रेष्ठ, हिरूलाल डङ्गौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सेभेज र जुओफु सियाङको टोलीले उक्त प्रजाति सानो ओत रहेको पुष्टि गरेको छ । नेपालमा १८५ वर्षपछि पुनः भेटिएको तस्बिरसहित उहाँहरूको संयुक्त लेख अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को ‘एसएससी ओत स्पेसलिस्ट ग्रुप बुलेटिन’ मा प्रकाशित भएको छ ।