धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघले पर्याप्त अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले सोचे अनुरूप काम गर्न नसकेको बताएका छन् । संविधानको मर्म र जनभावनाअनुसार अधिकार प्रत्यायोजन भए मात्रै प्रदेश र पालिकाले प्रभावकारी काम गर्न पाउने उनले जनाएका छन् ।
मुख्यमन्त्री शाहले संविधानबमोजिमका अधिकार हस्तान्तरण गर्न पनि संघीय सरकारले आनाकानी गरिरहेको गुनासो गरे । ‘कानुन, कर्मचारी र सुरक्षाको अधिकार अहिले पनि छैन । यो कुरा पटक–पटक लिखित र मौखिक रूपमा ७ वटै प्रदेशका मुख्यमन्त्रीले उठाएका छौं तर कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘जनताले पनि प्रश्न उठाउने र काम गर्न पनि नसकिने परिस्थिति सिर्जना हुँदा नागरिक र दलहरूबीच नै दूरी बढेको छ ।’
संघ सरकारले अनुमति नदिएकै कारण सुदूरपश्चिमको राजधानी गोदावरीमा बनाउने २०७५ को निर्णय कार्यान्वयन गर्न नसकेको मुख्यमन्त्री शाहले बताए । कर्मचारीतन्त्रले राजनीतिक दललाई र दलहरूले कर्मचारीतन्त्रलाई दोष दिने प्रवृत्ति अन्त्य गरेर विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । सीमित स्रोतसाधनका कारण ठूला परियोजना सञ्चालन गर्न नसकेको भनाइ पनि उनको थियो । उनले आफू मुख्यमन्त्री भएदेखि नै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको जिकिर गरे ।
छिटा–छिटो सत्ता परिवर्तन हुँदा हरेक क्षेत्रमा समस्या आएकाले स्थिर सरकारकै लागि अहिले दुई ठूला दल एकठाउँ आएको मुख्यमन्त्री शाहले बताए । संघमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि सरकार हेरफेर गर्ने प्रवृत्ति भने गलत रहेको उनले टिप्पणी गरे ।