धनगढी । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली शाखाको आफ्नै भवन निर्माण गर्न धनगढीमा आज देखि महायज्ञ गर्न लागिएको छ । धनगढी–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को उद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने भएका छन् । माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ ।
विभिन्न सांस्कृतिक बाजागाजासहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखेनाचसहित सांस्कृतिक झाँकीसहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रापश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधनसहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए । महायज्ञका लागि मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थलमा तयारीमा जुटेका छन् । संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ ।