धनगढी । कैलालीको धनगढीमा मानवसेवा आश्रमको ‘श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ को तयारी पूरा भएको छ । माघ २३ गतेदेखि ३० गतेसम्म हुने महायज्ञको तयारी पूरा भएको हो । आश्रमको धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
माघ २३ गते बिहान साढे १० बजे बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्रा गरिने जनाइएको छ । सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली, विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा, हुड्केली, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रा पश्चात मुख्यमन्त्रीको विशेष सम्बोधन सहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
भोलिदेखि सुरु हुने महायज्ञको तयारी पूरा भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए । महोत्सवस्थलमा मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आएका अभिभावक तथा अभियन्ता ३ साता अघिदेखि महायज्ञ स्थल तयारीमा जुटेको उनले बताए । संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजार भन्दाबढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको छ । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ ।
मिडिया हेल्प डेस्कका लागि पत्रकारहरूले डेस्कको सेवामा रहेका डेक्स संयोजक भाग्यश्री खडकालाई ९७४१–२४२१७३ मा सम्पर्क गरी डेस्कबाटै समाचार लेख्न र पठाउने सेवा गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ । त्यस्तै महायज्ञ परिसरको विभिन्न स्थलमा खानेपानी वितरण कक्षको व्यवस्था गरिएको छ । भक्तजनहरूको सवारी पार्किङका लागि चारपाङग्रे र दुई पाङग्रे सवारी साधन महायज्ञ स्थल परिसर नजिकै निःशुल्क पार्किङ सुविधा सहित व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै आकस्मिक अवस्थाका लागि उद्धार र सहयोग कक्ष, महायज्ञमा सहभागी हुने कोही पनि भक्त भोकै नपरुन् भनी प्रसादी वितरण कक्षको समेत व्यवस्था गरिएको छ । महायज्ञ नजिकै सोधपुछ कक्ष, रकम योगदान दाता सेवाकेन्द्र कक्ष , महिला पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्था, भक्तजनको तस्बिर खिच्ने र उपलब्ध गराउने कक्षका रूपमा फोटो डेक्स समेतको व्यवस्था गरिएको छ । महायज्ञको सारा व्यवस्थापकीय पक्ष सहजीकरणको लागि सचिवालय कक्षको व्यवस्था गरिएको छ । अतिथि सत्कार कक्ष, फोटो प्रदर्शनी , शौचालयको व्यवस्था, जुत्ता चप्पल व्यवस्थापन कक्ष लगायतका डेक्सहरु खडा गरी सम्पूर्ण तयारी सकिएको संयोजक कुँवरले बताए ।
महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुनेछन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने समितिले जनाएको ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवन धनगढी उपमहानगरपालिका–१५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको बताउँदै यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीले बताए । करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको उनले बताए । उक्त भवन निर्माणपछि सुदूरपश्चिमका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ ।
विभिन्न जिल्लामा यसअघि निर्माण भवन निर्माणमा सरकारका तीनै तहबाट र मानवताप्रेमी मनहरूबाट सहयोग जुटेर सेवा सञ्चालन भइरहेको आश्रमको भनाइ छ । २०८२ सालमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल ‘मिसन २०८२’ गर्ने गरी आश्रमले अभियान सञ्चालन गरिरहेको छ ।