धनगढी: मात्रृभुमी जागरण अभियानका सयोंजक डा.भिम रावलले एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी बिभाजन अघीनै माधव नेपाललाई पार्टी खोलौँ भनेर सुझाएको बताएका छन् । एक अन्तरवार्ताका क्रममा डा.रावलले ४ र ५ चैत २०७७ मा ललितपुरमा भएको माधव नेपाल पक्षको भेलामै पार्टी खोल्नुपर्छ भनेको बताएका हुन् ।
त्यो समयमा हाम्रो एकदमै ठूलो बहुमत थियो उनले भने “मैले पार्टी खोलौँ र केपी ओलीजीसँग पछि वार्ता गरौँला भनेको थिएँ । तर म एक्लै परेँ । कसैले पनि मानेन । केपी ओली र माधव नेपालजीले गोप्य वार्ता गरेर कार्यदल गठन गर्नुभयो । त्यसपछि कार्यदलमा म बस्दिनँ भनेको थिएँ । मलाई जबर्जस्ती राखियो । उल्टै मलाई माधव गुटबाट संयोजक बनाइयो । हामीले दुई नेता (माधव नेपाल र केपी ओली)को सल्लाहबाट १० बुँदे सहमति ग¥यौँ । त्यो पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमति थियो र त्यसमा हामीले हस्ताक्षर गरेका थियौँ । तर, उहाँहरूले कार्यान्वयन गर्नु भएन । अब कसले फुटायो पार्टी ? अब जहाँसम्म माधव नेपालजीको कुरा छ, १० बुँदे उहाँले नमानेपछि अब तपाईंले साथ दिनुहोस्, म पार्टी फुटाउँछु भन्नुभयो । मैले एक वर्षअगाडि हामी शक्तिशाली भएको समयमा पार्टी खोलौँ भन्दा तपाईंले किन मान्नु भएन भनेर प्रश्न गरेको थिएँ ।”
कार्यदल नबनाऊँ दुई जना नेताको वक्तव्य दिऊँ भन्दा पनि उहाँले मान्नुभएको थिएन उनले भने “कार्यदलमा मलाई नराख्नू भन्दा पनि मान्नु भएन । मैले हस्ताक्षर के गरौँ भनेर सोध्दा हस्ताक्षर गर् भन्नुभयो । म आफ्नो हस्ताक्षरप्रति कसरी अनैतिक हुन सक्छु । अब पार्टी विभाजन गरेर नजानुहोस् भनेको थिएँ मैले । १०औँ महाधिवेशनमा एकताबद्ध ढङ्गले जाऊँ भनेको थिएँ । उहाँले मान्नु भएन । त्यस कारण माधव नेपाललाई मैले घँचेटेको कुरा शतप्रतिशत झुटो हो । जहाँसम्म धोका दिएको भन्ने कुरा छ, पार्टी खोलौँ भन्दा नखोल्ने, कार्यदल नबनाऊँ भन्दा जबर्जस्ती बनाउने, हस्ताक्षर गर्दिनँ भन्दा गर् भन्ने र कार्यान्वयन नगर्ने धोकेबाज कि म ? त्यो आफैँ मूल्यांकन गर्नुहोस् ।”
रावलले अछाम बसाइ एकदमै राम्रो भएका बताएका छन् । अछाममा म जनस्तरमा पनि पुगेँ र विभिन्न राजनीतिक दलका कार्यकर्ता र विशेष गरी एमालेका जिल्ला तहका नेताहरूको बीचमा पुगियो उनले भने “उहाँहरूसँग यथार्थ कुरा भन्ने र उहाँहरूका कुरा सुन्ने दुवै काम भयो । मातृभूमि जागरण अभियान नेपालको विभिन्न ठाउँमा तदर्थ समिति पनि गठन गरियो ।” रावलले अहिले हामी देशव्यापी रूपमा मातृभूमि जागरण अभियानलाईअगाडी बढाएर त्यसपछि जुनसुकै राजनीतिक दलका भए पनि देशको भविष्यप्रति चिन्तित, अहिलेको भ्रष्टाचार र विकृति समाप्त गर्न चाहने व्यक्तिहरूसँग खुला रूपमा छलफल गरेर सुझावका आधारमा पार्टी निर्माण गर्ने बताए ।