धनगढी । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटबलले विजयी सुरुवात गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा जित हात पार्दै न्यु होराईजन बुटबलले विजयी सुरुवात गरेको हो । मंगलबार भएको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराईजन वुटबलले विजयी सुरुवात गरेको हो ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ५७ रनको योगफल बनायो । बुटबललाई सम्मानजनक योगफलमा पुराउनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन बनाए । आरिफ खानले ४१ रन बनाए भने कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले २०÷२० रन बनाए । बैतडीका लागि भुवन कार्कीले दुई विकेट लिए । खडक बोहोरा, रुपेश सिंह र सल्लाहुदीन खानले समान एक एक विकेट लिए ।
एक सय ५८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको दशरथ चन्द एकेडेमी बैतडीले १४।५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो । बैतडीका लागि बसन्त खत्रीले सर्वाधिक २० रन बनाए । बसन्त सहित हिमाल दौल्यालले १९ रन, सुमित वडालले १४ रन र दिवान पुनले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । न्यु होराईजन बुटबललाई जिताउन तुलवहादुर थापाले ३ विकेट लिए । विप्रोसन केसी र वीरवहादुर मगरले दुई दुई विकेट लिए ।
सिद्धान्त लोहनी, महेश भार र निर्मल गुरुङले एक एक विकेट लिए । खेलमा ३ विकेट लिएका बुटबलका तुलवहादुर थापा नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।