धनगढी । टीकापुर नगरपालिका–७ ले चिराकीलाई साइकल वितरण गरेको छ । वडाको आव २०८१ र ८२ को बजेटबाट १२ जना चिराकीलाई प्रतिव्यक्ति १० हजार बराबरको साइकल वितरण गरेको हो । बडघर र भलमनसा प्रणालीमा आवश्यक परेको बेला गाउँलेलाई सूचना जारी गर्न चिराकीको व्यवस्था गरिएको छ । चिराकीले सार्वजनिक काम, भेला, बैठक हुनुपर्ने, खोपलगायतका अभियानमा सहभागी हुनुपर्ने सूचना र कर्णाली नदीमा बाढी बढ्न थालेको सूचना घर घरै पुर्याउनु पर्छ ।
टीकापुर नगरपालिका–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले समाजमा हुने हरेक गतिविधि बडघरमार्फत गर्नुपर्ने र बडघरले समाज जुटाउन चिराकी खटाउने भएकाले घर घर पुग्न सहयोग पुगोस् भनेर साइकल वितरण गरिएको बताए । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने वडामा १५ वटा बडघर र १२ वटा चिराकी छन् । दिव्यपुर टोलकी चिराकी सावित्री चौधरीले ९० वटा जति घरमा पैदल हिँडेर सूचना पुर्याउन घण्टौँ लाग्ने गरेको तर साइकलमा भए २५ मिनेटमा जान सकिने बताए । सूचना पुर्याएबापत गाउँलेबाट उठाएको धान पाउने गरेका चिराकीहरू बडघर र भलमनसाका सहयोगी र सूचना प्रसारक हुन् ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले भने । “गाउँमा हुने कार्यक्रममा सहभागिता जुटाउन सूचनाको संवाहकका रूपमा रहेका चिराकीले साइकल पाएपछि काममा सहज हुने छ । टीकापुरमा बडघर ऐन पारित भइसकेकाले बडघर प्रथालाई व्यवस्थित गर्न हरेक वडामा बडघर भवन बन्ने छन् ।”