धनगढी । डडेलधुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई सङ्कायको पढाइ सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा बिपिएच ब्याचलर इन पब्लिक हेल्थ र बिएस्सी नर्सिङ ब्याचलर अफ साइन्स इन नर्सिङ सङ्कायको पढाइ सुरु गरिएको हो ।
यी दुई विषय सञ्चालनको अनुमति पाएपछि मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी ९ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी० को पठनपाठन सुरु गरेको थियो । मेडिकल कलेजका डिन डा। हेमनाथ जोशीका अनुसार कलेजले बिपिएचमा १० र बिएस्सी नर्सिङमा २० जनाको कोटा पाएको थियो तर अहिलेसम्म बिपिएचमा पाँच र बिएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन् ।
१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा छ जना भर्ना भएको उहाँले बताउनुभयो । गत वर्ष भने आठ जना भर्ना भएका थिए । मेडिकल कलेजका सहप्राध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीन वटा कार्यक्रम पाउनु डडेलधुरा मेडिकल कलेजका लागि खुसीको क्षण भएको बताए ।
उनले सबैको महत्वपूर्ण भूमिकाले उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सफलता यात्राको पहिलो खुड्किलो हो । अन्त्य होइन । अझै थप कार्यक्रम आउने छन् । अस्पतालको स्तरोन्नति हुँदै गयो भने एमबिबिएसको पढाइ पनि सुरु हुन्छ ।” डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाएको बताए ।
एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ ।