धनगढी । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डडृल्धुराले लगातार दोस्रो जित हासिल गरेका छन् । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण छोट्टईएको १५ ओभरमा ३ विकेट क्षतिमा एक सय ४३ रन बनायो । ओपनिङ ब्याट्सम्यान आयुषमान बमले अविजित ५७ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे । कप्तान सन्दिप जोराले पनि ५१ रनको अर्धतशकीय पारी गरे । ३० बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरे । कुशल भुर्तेल २ रन र विनोद भण्डारी ५ रनमा आउट भएपछि धर्मराएको फेण्ड्स क्लब डडेल्धुराको पारीलाई कप्तान सन्दिपले ओपनर आयुष्मान तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टीमलाई उच्च स्कोरतिर पुराए । डडेल्धुराका लागि किरण ठगुन्नाले १० बलमा २१ रन बनाए । बोष्टन क्रिकेट झापाका लागि अरुण ऐरीले २ विकेट लिए भने पवन कार्कीले एक विकेट आफ्नो नाममा लेखाए ।
एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको बोष्टन क्रिकेट झापाले १५ ओभरमा ९ विकेट क्षतिमा ६६ रन मात्रै बनाउन सक्यो । झापाका लागि ओपनरद्धय सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । २८ रनमा पहिलो विकेट गुमाएको झापाले त्यसपछि ३८ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । झापाका चार खेलाडी रनको खाता नखोली पेलिभियन फर्किए । डडेल्धुरालाई जिताउनका लागि कुशल भुर्तेलले ४ विकेट लिए । अजय चौधरीले दुई विकेट लिए । रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले एक एक विकेट लिए । खेलमा ५७ रनको अविजित पारी खेलेका फ्ण्ड्स क्लब डडेल्धुराका आयुषमान बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
दोस्रो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियााले सेमिफाईनलको सम्भावना बलियो बनाएको हो । अत्तरियालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि विवेक यादवले अर्धशतक सहितको विवेकीय पारी खेले ।
टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ रन बनायो । सुरुवाती ब्याट्सम्यानहरु सस्तोमा पेलिभियन फर्किदा चौथो विकेटको रुपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । १६ रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रुपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । ११.१ ओभरमा ६ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए । अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शंकर रानाले १४ रन बनाए । क्रिकेट एक्सीलेन्स सेन्टरका लागि युनिष ठकुरी र दिपेन्द्र रावतले दुई दुई विकेट लिए । सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक एक विकेट लिए ।
एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले १२.२ ओभरमा ९ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिईसीका विपिन आचार्य ११.२ ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सीवाईसी अत्तरिया विजयी भएको हो । सिईसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । पाँच जना खेलाडी शुन्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो खेलाडी भएका छन् । ३.२ ओभर बलिङ गरेका उनले १० रन खर्चिए । दिपेश कँडेलले २ विकेट हात पार्दा साहव आलम र सुसिल साउँदले एक एक विकेट लिए । खेलमा ५ विकेट लिएका सिवाईसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।